Logo

३ जेठ, वीरगञ्ज । बैंककै लापरवाहीका कारण वीरगन्ज स्थित नबिल बैंक बाईपास शाखामा चोरी भएको प्रहरीको ठम्याई छ । रातको समयमा न सुरक्षा गार्ड छ न त सूचना उपकरण नै जडान छ, यसलाई बैंक कै लापरवाही भन्न सकिने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले बताए ।

उनले भने “बैंक बैंकजस्तो संवेदनशील संस्थामा सुरक्षागार्ड नराख्नु लापरवाही नै हो । त्यसमा पनि बैंकमा हुने सम्भावित चोरी सम्बन्धमा सूचना दिने उपकरण जडान नगर्नु भनेको बैंकको चरम लापरवाही हो ।”

नबिल बैंक बाइपास शाखामा वैशाख १८ गते  रातको समयमा एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो । यो प्रकरणमा रौतहट मौलापुर नगरपालिका ७ निवासी विश्वम्भर साह मुख्य अभियुक्त रहेका भन्दै डिएसपी थापाले उनको खोजी भईरहेको बताए । उनले यसै घटनामा पक्राउ परेका रौतहटका छोटेलाल साह कलवार, २६ वर्षीय सञ्जय साह विरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने बताए ।

नबिल बैंक बाइपास शाखामा भएको चोरी सम्बन्धमा भारतको मोतिहारी पुलिसले १८ लाख २३ हजार नेरुसहित तीनजनालाई पक्राउ गरेको थियो ।
सविता देवी, मन्टुकुमार र अर्जुनकुमारलाई पक्राउ गरेको मोतिहारी पुलिसले जनाएको थियो ।

उनीहरू तीनैजना भारतीय हुन् । यो घटनामा तीनजना नेपाली र तीनजना भारतीय संलग्न रहेका देखिएका छन् । भारतमा पक्राउ परेका तीनैजनाविरुद्ध मोतिहारी पुलिसले मुद्दा दर्ता गरिसकेको छ ।


सम्बन्धित समाचार