Logo

३ जेठ,वीरगञ्ज । मधेश प्रदेशको सिरहा जिल्लामा कोदालो प्रहार गरी एकजनाको हत्या भएको छ । जग्गा विवादका कारण कोदालो प्रहार गरी एक जनाको हत्या भएको हो ।
जिल्लाको अर्नमा गाउँपालिका–२ ब्रहमपुरीका ५३ वर्षीय बुधराम महतोको कोदालो प्रहार गरी हत्या भएको हो ।

खर लिन ट्याक्टर लिएर खेतमा पुगेका बेला आज बिहान ८ ः २० बजे स्थानीय बचाई महतोले बुधरामलाई कोदालो प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।
कोदालोको प्रहारबाट बुधरामको घटनास्थलमै मृत्यु भएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जनाए । कोदालो प्रहार गर्ने बचाई महतो भने फरार भएका छन् । प्रहरीका अनुसार मृतक बुधराम र बचाईबीच लामोसमयदेखि खेतको साँधसिमानाको विवाद थियो ।

बुधराम आजै बिहान केही भद्रभलादमीलाई लिएर ट्याक्टरसहित खेतमा पुगेका थिए । त्यही क्रममा बचाई पुगेपछि विवाद भएको थियो । सोही क्रममा बचाईले बुधराममाथि कोदालो प्रहार गरेपछि उनको मृत्यु भएको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन् ।

मृतकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल सिरहा लगिएको र घटनाका विषयमा अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनायो ।


सम्बन्धित समाचार