Logo

३ जेठ,काठमाडौँ । नेपाली काँग्रेसले बिहीबारको प्रतिनिधि सभा बैठक पनि अवरोध गर्ने बताएको छ ।

सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार नभएको भन्दै काँग्रेसले अवरोध जारी राख्ने बताएको हो ।

बिहीबार बसेको काँग्रेस शीर्ष नेताको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले सहकारी ठगीको मूल समस्या छाडेर घटनालाई अन्यत्र मोड्ने हिसाबले मात्र समिति गठन गर्न खोजेको आरोप लगाए ।

‘रविजी लगायत सहकारीका सबै विषयलाई समेटेर छानबिन हुनुपर्छ भन्ने माग हो । त्यसका लागि सत्तापक्ष तयार भएको छैन । छानबिनको कुरा गर्दा सहकारीको कहाँ के समस्या छ हेर्ने, त्यस्तो छानबिन गर्ने भन्ने कुरा गरेर मूल विषयलाई डाइल्युट गर्ने कुरा आएकाले सहमति हुन सकेको छैन’, डा. महतले भने ।

मुख्य विषय ओझेलमा पारेर हुने छानबिन आफूहरूलाई स्वीकार्य नहुने उनले बताए । प्रतिनिधि सभा बैठकअघि बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा काँग्रेसका शीर्ष नेताबीच छलफल भएको थियो ।

 


सम्बन्धित समाचार