Logo

१८ जेठ, वीरगञ्ज । सिरहाको लहानमा चट्याङ लागेर एक मजदुर महिलाको ज्यान गएको छ । लहान नगपालिका वडा नम्बर १८ सोभनपुरका ४० वर्षीय हसिरन खातुनको चट्याङ लागेर ज्यान गएको हो ।

खुट्टिखोलामा गिट्टी–बालुवा चाल्न गएको बेला चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । उनीहरु खोलामा गिट्टी–बालुवा चालेर जीविकोपार्जन गर्दै आएका थिए । श्रीमान् मोहम्मद समरुदसँगै बिहीबार पनि खोलामै काम गरिरहेका बेला चट्याङ्ग लागेर हसिरनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष मोहम्मद शमशेरले बताए ।

उनका अनुसार छोरीसहित खोलामा गिट्टी–बालुवा चालिरहेकै बेला पानी परेपछि श्रीमान् र छोरी चाल्नो पुर्याउन अलि पर पुगेका बेला चट्याङ परेर ढलेकी उनको तत्काल मृत्यु भएको थियो । वडा अध्यक्षका अनुसार शरीरमा ठुलो चोट नदेखिए पनि लगाएको सुरुवालको तल्लो भाग जलेको देखिएको छ ।

खोलामै काम गरिरहेका अन्य भने सुरक्षित रहेको अध्यक्ष शमशेरले जानकारी दिए । मृतक खातुनका श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन् । मृतकको शव पोस्टमार्टमका लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहानमा राखिएको छ ।


सम्बन्धित समाचार