Logo

२९जेठ,जनकपुर । पार्टी विभाजनपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)प्रति नरम बनेका छन्।

जनकपुरमा जारी महाधिवेशनमा पेस गरेको ३१ पन्ने प्रतिवेदनमा लोसपासँग सहकार्य गर्न सकिने बाटो खुला राखेका छन्।

लोसपाबारे प्रतिवेदनमा भनिएको छ, ‘समावेशिता, राष्ट्रिय पहिचान र अधिकारकारको पक्षधर लोकतान्त्रिक पार्टी हो। यो पार्टीसँग हाम्रा केही एजेन्डाहरू मिल्छन्। तर, यो पार्टी देश र जनताको हितमा आफ्नो निर्णय आफैँ लिन सक्दैन, अर्काको मुख ताक्ने गर्दछ। तर पनि यो पार्टीसँग सहकार्य गर्न सकिन्छ।’

प्रतिवेदनमा उपेन्द्रले काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र लोसपाबारे छुट्टाछुट्टै विश्लेषण गरेका छन्। यीबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी, नेकपा मसाल, नेकपा ९विप्लव०, नेमकिपा, मालेको बारेमा समेत सामूहिक रूपमा व्याख्या गरेका छन्।

प्रतिवेदनमा भनिएको छ, ‘कम्युनिष्ट घेराभित्रै नेकपा एकीकृत समाजवादी, नेकपा मसाल, नेकपा ९विप्लव०, नेमकिपा, माले आदि । यी दलहरू वा त शास्त्रीय साम्यवादको धङधङीबाट ग्रस्त छन् त नेकपा एमालेकै उपग्रही विचार बोक्छन्। राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जस्ता नयाँ दलहरूले विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीति नभएको चिन्ता व्यक्त गर्दैछन्। यो सकारात्मक कुरा नै हो, तर यी दलका विचार के हो र के कस्ता एजेन्डा बोक्ने हुन्, त्यो प्रस्ट छैन।’

रास्वपा र नाउपा केही नयाँ गरौँ भन्ने हुटहुटीले बनेको हुनसक्ने भए पनि यिनीहरूलाई धैर्यतापूर्वक बुझ्ने, पर्खने गर्नुपर्ने उल्लेख गरेका छन्।

 


सम्बन्धित समाचार