Logo

३२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने  बताएका छन् ।

स्विट्जरल्यान्डको जेनेभामा शुरु भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को विहीबार उद्घाटन सत्रलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका नकारात्मक असरहरूको सन्दर्भमा जलवायु जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र आवश्यक प्रविधि उपलब्ध गराएर जलवायु न्याय तुरुन्तै सुनिश्चित गरिनुपर्ने बताए ।

उनले कार्बन उत्सर्जनमा नगण्य योगदान दिए पनि नेपालले जलवायु परिवर्तनको सबैभन्दा खराब असरको सामना गरिरहेको जनाउँदै यसमा नेपालको कुनै दोष नभएको स्पष्ट पारे । राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण परिवार, समुदायको विस्थापन र जीविकोपार्जनमा हुने क्षतिले समस्या थप जटिल बनाएको उल्लेख गरे ।

पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न सबैलाई अपिल गरे । श्रम जगतले नै विश्वलाई समृद्घन बनाएको भन्दै उहाँले श्रमबाट आएको प्रतिफलको न्यायोचित हिस्सा कामदारको हातमा पुग्ने कुरा सुनिश्चित गर्नु सबैको साझा दायित्व र सामाजिक न्याय भएको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले दिगो शान्ति हतियारबाट नभई साझा समृद्धि र विश्वबन्धुत्वको भावनाबाट प्राप्त गर्न सकिने बताए । सम्मेलनलाई सम्बोधन गर्दै उहाँले वैदेशिक रोजगारीमा गएका नेपाली युवा जनशक्तिलाई सम्मानपूर्ण व्यवहार गर्न अपिल गरे ।


सम्बन्धित समाचार