Logo

३० असार, वीरगञ्ज । भारतको राजस्व खुफिया निर्देशनालय (डि.आर.आइ) पटनाको बिभागले २ किलो सुन सहित ४ जनालाई आफ्नो नियन्त्रणमा लिएको छ ।

शनिबार पटनाको डि.आर.आइ बिभागले वीरगञ्जको मुख्य भन्सार हुँदै रक्सौल प्रवेश गर्ने स्कार्पियोबाट २ किलो सुन सहित १ महिलासहित ४ जनालाई आफ्नो नियन्त्रण लिएको हो । विशेष सूचनाको आधारमा पटनाबाट खटिएको बिभागले युपी ५० सिएस ००५० नम्बरको स्कार्पियोलाई खानतलासी गर्दा सुनसहित ४ जनालाई नियन्त्रणमा लिएको डि.आर.आइले जनाएको छ ।

बिभागका अनुसार दुबईबाट काठमाडौ हुँदै वीरगञ्जको नाका भएर रक्सौल बिहारको बाटो प्रयोग गरी तस्करहरुले आफ्नो संजाल दिल्ली सम्म फैलाइएको सूचना पाएपछि भारतको राजस्व खुफिया निर्देशनालयले आफ्नो संयन्त्र परिचालन गरेको थियो ।

प्राप्त सूचनाको आधारमा परिचालन गरेको संयन्त्रले सुन सहित तस्करहरुलाई पक्राउ गर्न सफल भएको डिआरआईका अधिकारीहरुले बताएका छन् । भारतीय स्कार्पियोमा २ किलो सुन सहित चारजना पक्राउ परेपछि नेपालबाटै भारतर्फ सुन तस्करी हुने गरेको रहस्य खुलासा भएको छ ।

वीरगञ्ज नाकाबाट रक्सोल प्रवेश गरेको स्कार्पियोबाट २ किलो सुन बरामद हुनुले तस्करहरुले वीरगन्ज नाकालाई सुन तस्करीको सहज नाका मानेको अनुमान गरिएको छ । नेपाल प्रहरी र सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको पनि आँखा छलेर वीरगञ्जबाटै रक्सोल सुन सहित भारतीय स्कार्पियो गाडी सहज प्रवेश हुनुले पनि सुन तस्करी अझै रोकिएको छैन भन्ने शंकाको सुविधा दिएको छ ।


सम्बन्धित समाचार