Logo

१० असोज,काठमाडौं । ठगी र जबरजस्ती करणीसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका तीजना युवालाई दुबईबाट पक्राउ गरेर ल्याइएको छ ।

दुबईमा पक्राउ पर्नेहरूमा ठगीसम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीहरू पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीय भूपेन्द्र बोहोरा र काठमाडौंको नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी छन् ।

प्रहरीले जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ घर भई हाल चन्द्रागिरी नगरपालिका–१० बस्ने २६ वर्षीय रोमन कार्कीलाई पनि पक्राउ गरेर ल्याएको छ।
पक्राउ परेकामध्ये भूपेन्द्रलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउका लागि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट आग्रह भएको थियो ।

त्यसपछि इन्टरपोल महासचिवालयबाट २०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो ।

यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७० साउन २४ गते कबिर बुढाथोकी र २०८१ असार १२ गते रोमन कार्कीविरुद्ध रेड नोटिस जारी भएको थियो ।
भूपेन्द्रलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक कारवाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।


सम्बन्धित समाचार