२२ मंसिर, काठमाडौँ । भोलि र पर्सि वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि बेलुकीदेखि देशका धेरै ठाउँमा मौसम बदली भई दुई दिनसम्म वर्षा र हिमपात हुने सम्भावना देखिएको छ ।
महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन निकालेर भोलि बेलुकीदेखि पर्सि सोमवार रातिसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै ठाउँमा तथा बाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ ।