Logo

८ असार, (माडी) चितवन । बालबालिकामा निहित सिर्जनशील प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले जनकल्याण माध्यमिक विद्यालय, कल्याणपुरले आयोजना गरेको माडी नगरस्तरीय आधारभूत तह (कक्षा १–५) चित्रकला प्रतियोगितामा ब्रह्मज्योति आधारभूत विद्यालय, ब्रह्मपुरीकी छात्रा अस्मिता तामाङ प्रथम भएकी छन्।

प्रतियोगितामा माडी क्षेत्रका विभिन्न विद्यालयका २६ जना विद्यार्थी सहभागी भएका थिए। प्रतिस्पर्धामा जनकल्याण माध्यमिक विद्यालयकी सोनामी घर्ती द्वितीय तथा राष्ट्रिय आधारभूत विद्यालय, बघौंडाका अप्सन चौधरी तृतीय भएका छन्। विजेता विद्यार्थीहरूलाई क्रमशः ४ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

त्यस्तै, बालविकास ई। बोर्डिङ स्कुलकी प्रिन्सेस श्रेष्ठ, जनकल्याण माध्यमिक विद्यालयकी समीक्षा सुनार, माडी माध्यमिक विद्यालयकी रेश्मी कलवार, दिवाकर स्मृति माध्यमिक विद्यालयकी काव्या आचार्य तथा गणेश आधारभूत विद्यालयका अनुप बोट लाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। उनीहरूलाई जनही एक हजार रुपैयाँ नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो।

प्रतियोगिताअघि आइतबार ३१ जना विद्यार्थीलाई चित्रकलाको आधारभूत सीप, रङ संयोजन तथा सिर्जनात्मक अभिव्यक्तिका विषयमा प्रशिक्षक राजेश बराल, भीमबहादुर श्रेष्ठ र प्रकाश थापा ले प्रशिक्षण दिएका थिए। प्रशिक्षणले विद्यार्थीहरूलाई आफ्नो कला प्रस्तुत गर्न थप आत्मविश्वासी र सक्षम बनाएको सहभागी शिक्षकहरूले बताएका छन्।

विद्यालयका प्रधानाध्यापक रामबहादुर जी।सी। को अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल प्रमुख अतिथि तथा वडा अध्यक्ष दीपेन्द्रराज पौडेल विशिष्ट अतिथि रहेका थिए। उनीहरूले विजयी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत भुसालले बालबालिकाको सिर्जनात्मक क्षमता पहिचान र विकासका लागि यस्ता प्रतियोगिता अत्यन्त प्रभावकारी हुने बताए। उनले चित्रकलाजस्ता रचनात्मक गतिविधिले विद्यार्थीमा कल्पनाशक्ति, आत्मविश्वास, अनुशासन, प्रतिस्पर्धात्मक भावना र सौन्दर्य चेतनाको विकास गराउने उल्लेख गरे।

भुसालले विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई अतिरिक्त क्रियाकलापमार्फत बहुआयामिक प्रतिभाको विकास गर्न आवश्यक रहेको धारणा राख्दै भविष्यका दक्ष, सिर्जनशील र जिम्मेवार नागरिक निर्माणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।

विद्यालयस्तरमै कलात्मक प्रतिभाको खोजी र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले माडीका साना विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्न सकारात्मक योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।


सम्बन्धित समाचार