८ असार,वीरगञ्ज । बारामा प्रहरीले करिब २३ लाख रुपैयाँ बराबरको खरबुजाको बीउसहित एक ट्रक नियन्त्रणमा लिएको छ। भन्सार राजस्व तिरेको बिलबिजक पेश गर्न नसकेपछि ट्रक र बीउ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार राति सिम्रौनगढ नगरपालिका–६ पावरहाउस चोकस्थित सिम्रौनगढबाट महोत्तरीतर्फ जाँदै गरेको ना ४ ख ८३४१ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले चेकजाँचका क्रममा रोकेको थियो।
जाँचका क्रममा ट्रकभित्र ३१४ बोरा (१२ हजार ५६० किलो) खरबुजाको बीउ फेला परेको थियो। उक्त बीउका लागि भन्सार राजस्व तिरेको प्रमाणस्वरूप कुनै बिलबिजक प्रस्तुत गर्न नसकेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएको बीउको बजार मूल्य करिब २२ लाख ९९ हजार २३३ रुपैयाँ रहेको छ।
ट्रकका चालक परवानीपुर गाउँपालिका–३ निवासी ३१ वर्षीय प्रवेज आलमलाई पनि नियन्त्रणमा लिइएको छ।
बरामद सामान र ट्रकको कुल मूल्य करिब ५७ लाख ९९ हजार २३३ रुपैयाँ अनुमान गर्दै चालकसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ।















