Logo

८ असार,वीरगञ्ज । परवानीपुर गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट पारित गर्दै आगामी वर्षका विकास निर्माण, सेवा प्रवाह तथा आर्थिक समृद्धिका प्राथमिकता सार्वजनिक गरेको छ।

गाउँसभामा प्रस्तुत बजेटअनुसार आगामी आर्थिक वर्षका लागि कुल रु. ३६ करोड ६३ लाख १० हजार बजेट विनियोजन गरिएको छ। गाउँपालिकाका अनुसार कुल बजेटमध्ये करिब ६० प्रतिशत चालु खर्च तथा ४० प्रतिशत पुँजीगत खर्च तर्फ विनियोजन गरिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार ले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा, पूर्वाधार विकास, भूमि प्रशासन, सरसफाइ, आर्थिक विकास तथा प्रभावकारी सेवा प्रवाहलाई प्रमुख प्राथमिकतामा राखिएको छ।

नीति तथा कार्यक्रमअनुसार गाउँपालिकाभित्र अधुरा रहेका विद्यालय भवन निर्माण कार्य सम्पन्न गरिनेछ। साथै करदाता सेवा गाउँपालिकाबाटै उपलब्ध गराउने, भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाट प्रवाह गर्ने तथा वडा नं. १ मा नदी नियन्त्रणको कार्य सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ।

त्यसैगरी, लिपनीमालस्थित गुर्दी बजार क्षेत्रमा सडकको उत्तर–दक्षिण भागमा भवन निर्माण सम्पन्न गर्ने योजना अघि सारिएको छ। वडा नं. ५ बहुअरीमा मुख्य सडक तथा नाला निर्माण, थप विद्यालय भवन तथा बाल विकास केन्द्र निर्माणलाई पनि प्राथमिकताका साथ समेटिएको छ।

गाउँसभाले गाउँपालिकाभर नियमित सरसफाइ तथा फोहोरमैला व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने नीति स्वीकृत गरेको छ। साथै नवप्रवर्तनमा आधारित आर्थिक विकास कार्यक्रममार्फत स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य लिइएको छ।

अधिवेशनमा संघीय तथा प्रदेश सरकारसँगको समन्वय, गैरसरकारी संस्थासँग सहकार्य, सार्वजनिक–निजी साझेदारी तथा जनसहभागितामार्फत विकास निर्माणका कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी ले नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीबीच आपसी सहकार्य अपरिहार्य रहेको बताए। उनले गाउँपालिकाको समग्र विकास, सुशासन तथा नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम ल्याइएको उल्लेख गरे।

गाउँसभा अधिवेशनमा गाउँपालिका उपाध्यक्ष सुगान्धी देवी कनुइन, प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, समाजसेवी नेता उमेश साह कानु, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अधिवेशनले आगामी आर्थिक वर्षमा विकास निर्माणका योजनाहरूलाई तीव्रता दिँदै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्ने अपेक्षासहित आफ्नो कार्यसूची सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ।


सम्बन्धित समाचार