२६ मंसिर, वीरगञ्ज। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्साको वीरगञ्ज पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग मंगलबार जिल्ला अदालत सरकारी वकिलको कार्यालयमा झण्डै चार घण्टा बयान लिइएको छ ।
सरकारी वकिलको कार्यालयका मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाले लामिछानेसँग बयान लिएका हुन्। सरकारी वकिलको कार्यालयमा बयान सकेर लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।
सहकारीको रकम हिनामिना प्रकरणमा गएको कात्तिक २ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सोमवार बेलुका सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि वीरगञ्ज ल्याइएको थियो । उनलाई आज पोखरा फिर्ता पठाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सहकारी ठगी प्रकरणमै लामिछानेलाई अनुसन्धानका लागि यसअघि रुपन्देही, काठमाण्डौ र चितवन लगिएको थियो । यसैबीच अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले हिजो रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।
अनुसन्धानको क्रममा रहेका लामिछानेको विषयलाई जोडेर अदालतको अवहेलना हुनेगरी सार्वजनिकरूपमा अभिव्यक्ति दिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन दायर गरेका थिए।