
१९ फागुन,पर्सागढी । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–२ बागबाना गाउँमा रोकि राखेको बसमा आगो लाग्दा बस पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
ना ४ ख ३४६५ नम्बरको बिगानाथ थारुको बसमा अचानक आगो लाग्दा बस जलेको हो । बसको चार वटा टायर बाहेक सबै जलेको छ । बागबाना हुँदै हरपुर, बहुअर्वा बिरगंज चल्ने बस आज अर्को बसको पालो भएकोले बागबाना गाउँमा रोकेर राखेको थियो ।
बागबानाबाट पर्साको ग्रामीण भेग भइ दुई वटा बस प्रत्येक दिन आलोपालो गरि चल्ने गरेको थियो । बसमा विद्युतीय तार सर्ट भई आगो लागेको हुनसक्ने आशंका गरिएको छ । बसमा लागेको आगो स्थानीयबासी, मनवा प्रहरी चौकी र सखुवाप्रसौनी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिईएको छ ।
आगलागीको घटनाबारेमा थप अनुसंधान भईरहेको मनवा प्रहरी चौकीका ईन्चार्ज मनोज यादबले बताए । बसमा आगो लागेको देख्ने बितिकै पर्सागढीको बारुणयन्त्रलाई फोन गर्दापनि बारुणयन्त्र नगएको भन्दै स्थानीयहरुले आक्रोशित भएका थिए ।