
२० फागुन,काठमाडौं । अब मोटरसाइकल चालकसहित यात्रुले पनि सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने व्यवस्था खारेज भएको १८ वर्षपछि फेरि लागू गरिने भएको छ ।
सरकारले २०६१ सालदेखि मोटरसाइकलका चालकसहित त्यसमा सवार यात्रुका निम्ति हेल्मेट अनिवार्य गरेको थियो । तर, २०६२–०६३ को जनआन्दोलनपछि गठित सरकारले ‘सम्पूर्ण शाहीकालीन आदेश तथा निर्देश खारेज हुने’ भनी एकमुष्ट निर्णय गरेपछि दुई हेल्मेटको व्यवस्था पनि खारेज भएको थियो ।
सरकारले संसदमा दर्ता गरेको सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०८१ मा त्यस्तो व्यवस्था गरेको छ ।
‘सडक यातायात सेवालाई सहज, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाई सर्वसाधारण जनतालाई सरल, सुलभ र गुणस्तरीय यातायात सुविधा उपलब्ध गराउन यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउन वाञ्छनीय भएकोले’ उक्त विधेयक अगाडि बढाइएको प्रस्तावनामा उल्लेख छ ।
विधेयकको दफा ४२ को उपदफा ३ मा ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पाङ्ग्रे सवारी चलाउँदा चालक र त्यस्तो सवारीमा यात्रा गर्ने अन्य यात्रुले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने उल्लेख छ ।
उपदफा ४ मा त्यस्ता सवारी साधनमा यात्रा गर्ने १० वर्षमुनिका वा १३५ सेन्टिमिटरभन्दा कम उचाइ भएका बालबालिकाका लागि छुट्टै सीट (चाइल्ड रिस्ट्रेन्ट) को व्यवस्था गर्ने उल्लेख छ । उपदफा ५ ले त्यस्ता सवारी साधन चलाउँदा बालबालिकालाई अगाडिको सीटमा राख्न नपाइने व्यवस्था गरेको छ ।
विधेयकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्तिको विद्यमान व्यवस्थामा परिवर्तन गर्दै सवारी साधनका आधारमा उमेर हद तथा शैक्षिक योग्यतासमेत निर्धारण गरेको छ । दफा १४ मा ‘चालकका लागि अयोग्यता’ शीर्षकमा त्यस्तो व्यवस्था गरिएको हो ।
उक्त दफामा ठूला सवारी साधनका चालकको उमेर कम्तिमा २३ वर्ष र मझौला तथा सानो (चार पाङ्ग्रे) का हकमा पूरा भएको हुनुपर्ने उल्लेख छ । साढे तीन र दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल) चालकका हकमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।