
९ चैत,बारा । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक करोड १५ लाख रुपैयाँको नयाँ गाडी खरिद गरेको छ। अर्थ मन्त्रालयले केन्द्र, प्रदेश र स्थानीय तहमा नयाँ गाडी खरिद नगर्न निर्देशन दिएको थियो।
उपमहानगरपालिकाले समानीकरण अनुदानको बजेटबाट महिन्द्राको स्कोर्पियो ’एन’ मोडेलको गाडी खरिद गरेको हो। जबकि उपमहानगरपालिकासँग पहिले नै प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका लागि तीनवटा गाडीहरू थिए।
स्थानीय नागरिकहरूले नगर प्रमुख आफ्नो सुविधामा केन्द्रित भएको आरोप लगाएका छन्। कलैया उपमहानगरपालिका वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष जटाशंकर सहनीले अहिलेका जनप्रतिनिधिहरू मुकुट बिनाका राजा जस्तै भएको टिप्पणी गरेका छन्।
कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले भने नगरको काम धेरै भएकोले आवश्यकता हेरेर गाडी खरिद गरिएको बताए। उनले अर्थ मन्त्रालयले संघको कार्यालयलाई मात्र रोकेको र स्थानीय तहलाई गाडी खरिद गर्न नरोकेको तर्क गरे।
कोष तथा लेखा नियन्त्रक कार्यालय बाराले भने अर्थ मन्त्रालयले नयाँ गाडी खरिद नगर्न भने पनि स्थानीय तहलाई नियमन गर्ने स्पष्ट कानुन नभएका कारण नियन्त्रण गर्न गाह्रो भएको जनाएको छ।
यस विषयमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साहको प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।