Logo

११ चैत,सुनसरी । सुनसरी जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यले गरिएको अनुगमनका क्रममा चिट चोराउने कार्यमा संलग्न गार्ड र निरीक्षकलाई पक्राउ गरिएको छ। यस कदमले परीक्षाको निष्पक्षता कायम राख्न प्रशासन गम्भीर रहेको सन्देश दिएको छ।

सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’ मार्फत चिट चोर्न सहयोग गर्ने दुई जना गार्ड रमानन्द मेहता र श्रवण कुमार चौधरीलाई रङ्गेहात पक्राउ गरिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र नेतृत्वको अनुगमन टोलीले गरेको आकस्मिक निरीक्षणका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका शिक्षकहरूले मोबाइल प्रयोग गरी विद्यार्थीहरूको नाम, सिम्बल नम्बर र विद्यालयको नामसहित चिट चोराउन च्याट गरेको पाइएको थियो। घटनालगत्तै दुवै शिक्षकलाई परीक्षा गार्डको जिम्मेवारीबाट निष्कासन गरिएको छ।

त्यसैगरी, इनरुवा–१ स्थित भगवती मावि परीक्षा केन्द्रबाट पनि तीन जना निरीक्षक मुकेन्द्र यादव, रमानन्द यादव र दिनेशप्रसाद यादवलाई नियन्त्रणमा लिइएको छ। प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार, निरीक्षकहरूले ‘ह्वाट्सएप ग्रुप’ बनाएर परीक्षाको प्रश्नपत्र बाहिर पठाउने र बाहिरबाट उत्तर लेखेर विद्यार्थीलाई सिकाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुनसरी प्रशासनले परीक्षा केन्द्रमा मोबाइल प्रवेशलाई कडाइका साथ निषेध गरेको छ र यसको प्रभावकारी कार्यान्वयनका लागि थप निर्देशन जारी गरेको छ। यसअघि दुहवीमा पनि विद्यार्थीबाट रकम लिने दुई जना गार्डलाई निष्कासन गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले परीक्षालाई मर्यादित बनाउन र चिट चोर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न परीक्षा केन्द्र लक्षित अनुगमन टोलीलाई थप सक्रिय पारिएको जानकारी दिए। उनले भने, “हामी परीक्षालाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन प्रतिबद्ध छौँ र यसका लागि सबै आवश्यक कदम चालिरहेका छौँ।“

प्रारम्भिक अनुसन्धान अनुसार, केही निजी विद्यालयका सञ्चालकहरूले आफ्ना विद्यालयलाई उत्कृष्ट देखाउन आर्थिक प्रलोभनमा पारी निरीक्षकहरूलाई चिट चोराउन संलग्न गराउने गरेको पाइएको छ। प्रशासनले यस्ता गतिविधि रोक्न थप रणनीति अपनाउने जनाएको छ।

जिल्लाभरिका ५० परीक्षा केन्द्रमा १३ हजार ५७३ परीक्षार्थी सहभागी भइरहेको शिक्षा विकास तथा समनव्य एकाइ प्रमुख खगेन्द्र सुवेदीले जानकारी दिए। सुनसरी प्रशासनको यो सक्रियताले एसईई परीक्षालाई स्वच्छ र धाँधलीरहित बनाउने प्रयासमा महत्वपूर्ण सफलता मिलेको छ।


सम्बन्धित समाचार