
२२ पर्सागढी, चैत । पर्सागढी नगरपालिका वडा नम्बर–३ स्थित जनता माध्यमिक विद्यालयमा तीन जना शिक्षकको नियुक्तिमा लागेको आरोप निराधार रहेको नगर प्रमुख गोकर्ण पाठकले बताएका छन् ।
नगर प्रमुख पाठकले पत्रकार सम्मेलनको आयोजना गरेर वडा नम्बर ३ का वडा अध्यक्ष सुकमान तमाङ्ग लगायतका ब्यक्तिहरुले भ्रमपुर्ण समाचार सम्प्रेषण गरि शिक्षक नियुक्ति सम्बन्धमा पर्सागढी नगरपालिका कार्यालय सहित नगर प्रमुख, प्रसासकीय अधिकृत, शिक्षा शाखामाथि लगाएको आरोपमा कुनै सत्यता नभएको बताएका हुन् ।
शिक्षा ऐन नियमावली अनुसार शिक्षक नियुक्ति प्रक्रियामा नगर पालिकाको कुनै भूमिका नरहेको सम्पूर्ण अधिकार विद्यालय व्यावस्थापन समितिमा निहित रहेको हुँदा नियुक्ति प्रक्रिया पूरा गरि शिक्षक छनोट समितिबाट सिफारिस भए बमोजिम विद्यालयले पालिकालाई जानकारी गराउने हुनाले पालिकाको कुनै हात नरहेको स्पष्ट पारे ।
विद्यालयले ब्यवस्थापन समितिको निर्णय सहित नेपाली, गणित र सामाजिक विषयको रिक्त दरबन्दीमा शिक्षक नियुक्ति गर्नुपर्ने सहित विद्यालयले माग गरेको र पालिकाले नियुक्ति प्रक्रियाको लागि अनुमति दिईएको साथै विद्यालयले चैत्र २० गते बिज्ञापन गरि नियुक्ति प्रक्रिया अगाडि बढाएकोमा वडा अध्यक्ष सुकमान तमाङ्गले आफू अनुकुल बिज्ञापन नगरेको भन्दै बिज्ञापन रद्द गर्न पालिकालाई लिखित रुपमा दबाब दिएको बताए ।
वडा अध्यक्ष तमाङ्गले समाजिक विषयको बिज्ञापन रद्द गरि लेखा विषयको बिज्ञापन समेत गर्न दबाव दिएको र उनी अनुकुल नभएपछि बिरोध गरेको बताए । जनता माविका प्रधानाध्यापक मोहन प्रसाद चौधरीले सम्मेलनमा वडा अध्यक्ष सुकमान तमाङ्गले समाजिक विषयलाई रद्द गरि लेखा बिषयको बिज्ञापन गरि विद्यालयमा करार सेवामा कार्यरत शिक्षिका सोनम चौधरीलाई नियुक्ति गर्न बारम्बार दबाव दिएको नगर प्रमुख पाठकको भनाई छ ।
वडा अध्यक्ष तामाङले भने जस्तो नभएपछि बिरोधमा ओर्लिएर हाजिरी रजिस्ट्रर लगायत आवश्यक कागजपत्रहरु खोसेर लगेकोमा बुधबार मात्र विद्यालयमा ल्याएर बुझाएको पत्रकार सम्मेलनमा नगर प्रमुख पाठकले बताए ।
शिक्षा शाखा प्रमुख कपिल लामिछानेले नियम सम्बद्ध तरिकाबाट शिक्षक नियुक्ति गर्न निर्देशन दिएको र शिक्षक नियुक्ति छनोट समितिका संयोजक शिक्षा समन्वय ईकाई पर्साका अधिकृत श्याम किसोर गुप्ताको नेतृत्वमा वीरगंजको पानालाल माध्यमिक विद्यालयमा सहभागीहरुको परिक्षा लिई सामाजिक विषयमा प्रबिन्दा पन्जियार, नेपालीमा माधवराज घिमिरे, गणितमा सन्दिप चौहान नियुक्त भएको बताए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरीका अनुसार समितिको म्याद चैत्र आठ गते सकिने हुँदा विद्यालयमा रहेको रिक्त दरबन्दी पूरा गरि आउने नयाँ शैक्षिक सत्रमा पढाई सुचारु गर्न नियुक्ति गरिएको बताए । पत्रकार सम्मेलनमा पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकास खनाल वडा अध्यक्षहरु कार्यपालिका सद्स्य वडा सद्स्य लगायतको सहभागी रहेको थियो ।