९ असार, काठमाडौँ । नेपालको मौसममा यतिबेला दोहोरो चरित्र देखिएको छ। देशको पूर्वी र मध्य भूभागमा मनसुनी वायुले वर्षा गराइरहँदा पश्चिमका तराई क्षेत्रमा भने तातो हावा (लु) र अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको अधिकांश भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। बाँकी भूभागमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहँदा मिश्रित मौसमको अवस्था सिर्जना भएको हो ।
मनसुनको सक्रियताका कारण कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली (बादल लाग्ने) भएको छ । आज दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै कोशीको तराई क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।
यी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ। मधेस प्रदेश र बागमती-गण्डकीको तराईका एक-दुई स्थानमा पनि चट्याङसहित वर्षा हुने अनुमान छ ।
मौसमको ठीक विपरीत रूप देशको सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा देखिएको छ । त्यहाँ मौसम मुख्यतया सफा रहनेछ भने सूर्यको कडा प्रकाशका कारण तापक्रम उच्च हुनेछ ।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आगामी केही दिनसम्म ‘तातो लहर’ (लू) चल्ने सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । यस्तै, वर्षा नभएका कारण बागमती र गण्डकी प्रदेशका तराई भूभागमा पनि आज ‘तातो दिन’ हुने र अत्यधिक गर्मी महसुस हुने देखिन्छ ।
एकै समयमा देशको एकातर्फ चट्याङसहितको वर्षा र अर्कोतर्फ लूको जोखिम रहेकाले मौसमविद्हरूले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रमा कृषि, यातायात र दैनिक कामकाज गर्दा सावधानी अपनाउन भनिएको छ ।
अर्कोतर्फ, तातो लहर चल्ने पश्चिमका तराई क्षेत्रमा दिउँसोको समयमा घरबाहिर धेरै ननिस्कन, प्रशस्त पानी पिउन र गर्मीबाट बच्ने उपायहरू अपनाउन स्वास्थ्य मन्त्रालय तथा मौसम पूर्वानुमान महाशाखाले विशेष अपिल गरेको छ ।

















