Logo

२२ चैत,वीरगञ्ज । वीरगञ्जको मुटु मानिने घण्टाघर चोक दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक र रोजगारदाताहरुका लागि बरदान सावित भएको छ। बिहानको ६ बजेदेखि नै यहाँ कामको खोजीमा आउने श्रमिकहरुको चहलपहल बढ्छ र यो क्रम दिउँसोसम्म जारी रहन्छ। घण्टाघर चोकले वर्षौंदेखि श्रम बजारको जीवन्त चित्र प्रस्तुत गर्दै आएको छ।

विभिन्न ठाउँबाट आएका श्रमिकहरु यहाँ जम्मा हुन्छन् र निर्माण, ढुवानी जस्ता कामको लागि रोजगारदाताको प्रतीक्षा गर्छन्। बिहान ९ बजेसम्म पनि काम नपाएका प्रसौनी बिर्ताका रामबालक चौहानले भने, “हामी काम दिने नाइकेको बाटो हेरेर बस्छौं।“ राजमिस्त्रीको काम गर्ने चौहानलाई आफ्नै गाउँमा काम नपाउँदा परिवार पाल्न घण्टाघर धाउनुपर्ने बाध्यता छ। दैनिक ९०० रुपैयाँ कमाउने चौहानले ६ छोरी र एक छोराको शिक्षादीक्षाका लागि यहीँको कमाइले धान्दै आएका छन्।

उनी जस्तै वीरगञ्ज–२२ का राज करिम पनि दैनिक कामको खोजीमा आउँछन्। काम पाए सात जनाको परिवार पाल्न सहज हुने भए पनि काम नपाउँदा परिवारलाई के खुवाउने भन्ने चिन्ताले सताउने गरेको उनले बताए। यहाँ कामको ज्याला पनि एकरुपता नभएको उनको गुनासो छ।

छपकैयाका रामपुकार साह भने भाग्य बलियो भएको दिन मात्रै काम पाइने बताउँछन्। बिहानदेखि दिउँसो २ बजेसम्म कामको खोजीमा रहने साहले काम नपाए बूढी आमासहित सात जनाको परिवारलाई कसरी पाल्ने भन्ने चिन्ता लाग्ने गरेको बताए।

यद्यपि, घण्टाघर चोक श्रमिकहरुका लागि आशाको केन्द्र बनेको छ। समिमा कन्स्ट्रक्सन प्रालिका सञ्चालक नियाजबाबु शेख प्रसौनी नरकट्टियामा नाला निर्माणका लागि १५ जना मजदुर खोज्दै यहाँ आइपुगेका थिए। उनले भने, “आवश्यकता अनुसारका मजदुरहरु भेटिने भएकाले हामी यहाँ आउने गर्छौं।“

घण्टाघर चोकमा आफ्नो घरको भुइँ ढलान गर्न दुई जना मजदुर खोज्न आएका वीरेन्द्र पटेलले भने, “यहाँ मजदुर छानीछानी लैजान पाइने भएकाले आएको हुँ।“

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतम घण्टाघर चोकलाई रोजगारदाता र श्रमिकका लागि ‘श्रमिक बैङ्क’ को रुपमा लिन्छन्। यहाँ विशेषगरी निर्माण क्षेत्र र लोडअनलोड गर्ने कामको लागि श्रमिकहरु आउने गरेको उनले बताए।

यसरी वीरगञ्जको घण्टाघर चोक दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरुको जीविकोपार्जनको महत्वपूर्ण आधार बनेको छ। यहाँ आउने श्रमिकहरु कामको खोजीमा संघर्ष गरिरहेका भए पनि यसले वीरगञ्जको आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्याएको छ। यो स्थान श्रमिक र रोजगारदाताबीचको सम्बन्धलाई बलियो बनाउने एक महत्वपूर्ण चौतारीको रुपमा स्थापित भएको छ।रासस


सम्बन्धित समाचार