Logo

२२ चैत,जनकपुर । मधेश प्रदेश सभामा १२ दिनदेखि जारी रहेको विवाद अन्ततः सुल्झिएको छ। सभामुख रामचन्द्र मण्डलको पहलमा आज बसेको सर्वदलीय बैठकमा तीन बुँदे सहमति भएपछि प्रदेश सभाको अवरोध हटेको हो। सहमतिसँगै अब प्रदेश सभाको बैठक नियमित रूपमा सञ्चालन हुने भएको छ।

सभामुख मण्डलले आज बिहान भएको सर्वदलीय बैठकमा विपक्षी दलहरूले उठाएका मागलाई सम्बोधन गर्दै तीन बुँदे सहमति जुटेको जानकारी दिए। सहमति अनुसार, प्रदेश सभामा संसदीय छानबिन समिति गठन गरिने भएको छ। साथै, अब बस्ने सदनको बैठकमा योजना बिक्री वितरणबारे सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सदनलाई सम्बोधन गर्ने सहमति भएको छ।

माओवादी केन्द्र मधेशका संसदीय दलका नेता भरत साहले अनधिकृत तवरबाट योजनाको चिठी बिक्री वितरणबारे चैत २७ गतेको बैठकमा सम्बन्धित मन्त्रीले जवाफ दिने र संसदीय छानबिन समिति गठन गर्ने निर्णय भएको बताए। यसैगरी, चैत २६ गते सदन सुरु हुने र प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सहमति भएको उनले जानकारी दिए।

अनधिकृतरूपमा कमिसनका कारण योजना बिक्री हुने गरेको आरोप लगाउँदै जसपा नेपाल र माओवादी केन्द्रले संयुक्त रूपमा संसदीय छानबिन समितिको माग गर्दै सदन अवरुद्ध गरेका थिए। सभामुखको कार्यालयले विवाद समाधानका लागि आज सर्वदलीय बैठक आह्वान गरेको थियो।

 


सम्बन्धित समाचार