Logo

२८ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर–२३ अन्तर्गत पर्ने प्रसौनी बिर्ताको मुख्य सडक गएरातिको वर्षापछि जलमग्न बनेको छ। हनुमान मन्दिरदेखि रामराजा पुलसम्मको खण्डमा पानी जम्दा स्थानीयवासीहरू आवतजावतमा ठूलो कठिनाइ भोगिरहेका छन्।

उक्त क्षेत्रको सडक अवस्था विगतदेखि नै जीर्ण रहँदै आएकोमा, एकदिने वर्षाले समेत सडक डुबानमा पर्ने अवस्था देखिएको छ। “चैत्र महिनाको पानीले यस्तो स्थिति भएको छ भने असार–साउनमा त यहाँ समुन्द्र जस्तै हुन्छ,“ एक स्थानीयवासीले आक्रोश व्यक्त गरे।

स्थानीयहरूका अनुसार पानी जम्दा साना बालबालिका, वृद्धवृद्धा र सर्वसाधारणलाई बाटो पार गर्नै मुस्किल पर्ने गरेको छ। दुर्घटनाको जोखिम समेत बढेको स्थानीयको चिन्ता छ। उनीहरूले समयमै उचित जल निकास र सडक मर्मतको माग गर्दै आएका छन्।

स्थानीय पत्रकार राकेश साहले सामाजिक सञ्जालमार्फत सडकको दयनीय अवस्थाप्रति प्रतिनिधिसभा सदस्य एवं संघीय खानेपानी मन्त्री प्रदीप यादव, मधेस प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रहबर अन्सारी, र वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहको ध्यानाकर्षण गराएका छन्।

सडक पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने हुँदा संघीय र प्रदेश दुवै तहका प्रतिनिधिहरूको जिम्मेवारीमा पर्ने बताउँदै, स्थानीयले तत्काल पहल गर्न अपिल गरेका छन्। “हाम्रो समस्या वर्षैपिच्छे दोहोरिन्छ, तर समाधानको पहल हुँदै गरेको देखिँदैन,” एक स्थानीयले गुनासो गरे।

सडक मर्मत र जल निकासको व्यवस्था समयमै नगरे समाधानको साटो समस्या थप जटिल बन्न सक्ने स्थानीयको चेतावनी छ। उनीहरूले सम्बन्धित निकायलाई गम्भीर ध्यान दिन आग्रह गरेका छन्।

 


सम्बन्धित समाचार