
२९ चैत, काठमाडौँ । चैत १५ गते राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईं भारतको आसाममा पक्राउ परेपछि आज विमानमार्फत काठमाडौं ल्याइने भएको छ ।
प्रहरी स्रोतका अनुसार उनलाई झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याएर भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याउने तयारी छ । प्रसाईंका दाजु लक्ष्मी प्रसाईंले दुर्गालाई काँकडभिट्टा स्थित मेची पुल ल्याइने जानकारी दिएका छन् । यसका लागि प्रसाईंका परिवार र शुभेच्छुकहरु बिहानैदेखि मेची पुलमा उपस्थित भएका छन् ।
प्रदर्शनपछि फरार भएका प्रसाईं राजधानीको तीनकुनेस्थित एक सटरबाट धर्मगुरु पुष्कर खतिवडासहित गाडीमा चढेर भागेका थिए । उनीहरूले प्रयोग गरेको बीएन्डसी मेडिकल कलेजको गाडी झापामै फेला परेको थियो । प्रहरीका अनुसार बी-ए-बी ४२०८ नम्बरको स्कोर्पियो टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा नियन्त्रणमा राखिएको छ ।
प्रसाईं झापा हुँदै भारतको आसाम राज्यसम्म पुगेका थिए । त्यहाँ उनले केही समय गुप्त बसोबास गरेपछि बिहीबार भारतको आसाम राज्यमा पक्राउ परेका थिए । प्रहरी विशेष ब्युरोको टोलीले उनको लोकेसन ट्र्याक गरी पक्राउ गर्न सफल भएको हो ।
भिडिओमार्फत असुरक्षा महसुसको दाबी
फरार रहँदा प्रसाईंले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै आफू नेपालमै रहेको र असुरक्षित महसुस भएको दाबी गरेका थिए । तर प्रहरीले उनका गतिविधि र लोकेसन ट्र्याक गरिरहेको थियो । एक भिडियो सन्देशमा उनले “ज्यानको सुरक्षा सुनिश्चित भए तत्काल उपस्थित हुन्छु” भनेका थिए ।
तीनकुने घटनापछि थप अनुसन्धान
तीनकुने प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो भने सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड तथा आगजनी भएको थियो । प्रसाईंको नेतृत्वमा भएको उक्त प्रदर्शनप्रति प्रहरीको विशेष अनुसन्धान जारी छ । प्रहरीका अनुसार घटनाको दिन उनी आफैंले गाडी चलाएर प्रहरीलाई किच्ने प्रयास गरेका थिए ।
यस घटनासँग सम्बन्धित अभियोगमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र धवल शमशेरसमेत अनुसन्धानको घेरामा छन् । उनीहरूलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध अन्तर्गत अनुसन्धान भइरहेको छ । हालसम्म ७० जना भन्दा बढी व्यक्ति प्रहरी हिरासतमा छन् ।
दुर्गा प्रसाईंको पक्राउसँगै तीनकुने घटनामा संलग्न उच्च तहका योजनाकारमाथि प्रहरी अनुसन्धानले गति लिएको छ । अब प्रसाईंलाई औपचारिक रूपमा पक्राउ गरी संगठित हिंसा र राज्यविरुद्धको गतिविधिमा संलग्नताका आधारमा कानुनी कारबाही अगाडि बढाइनेछ ।