Logo

१ वैशाख, काठमाडौँ । नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ ।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान सुरु भएको हो । सरकारले सबै अभिभावक तथा सरोकारवालाहरुलाई यो अभियान सफल पार्न आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गरेको हो। मन्त्रालयले शैक्षिक सत्र २०८२ अभियान सफल पार्न मन्त्रीस्तरको निर्णयसहित सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइहरूलाई ७ बुँदे अनुरोधसहित भर्ना अभियानमा सहयोग गर्न आग्रह गरेको छ ।

विद्यालयको सेवा क्षेत्रभित्र बसोबास गर्ने विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित हुने गरी भर्ना अभियान सञ्चालन गर्न/गराउन भनिएको छ। विद्यालय भर्ना अभियानको शुभारम्भको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन् । उनले समृद्धिको एक आधारका रुपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्ताहरु लाग्नुपर्नेमा जोड दिए ।

साथै प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।  अहिले आधारभूत तहको खुद भर्ना दरमा सुधार आएको देखिए पनि विद्यार्थीको टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन् ।


सम्बन्धित समाचार