
१५ वैशाख,काठमाडौं । भारत सरकारले पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारत र सुरक्षा निकायहरूबारे गलत र उत्तेजित सामग्री प्रसारण गरेको आरोप लगाउँदै पाकिस्तानका १६ वटा युट्युब च्यानलहरूमा प्रतिबन्ध लगाएको छ।
प्रतिबन्धित च्यानलहरूमा डन न्युज, एआरवाई न्युज र जिओ न्युज जस्ता चर्चित नामहरू पनि समावेश छन्। यी च्यानलहरूको कुल दर्शक संख्या ६ करोड ३० लाखभन्दा बढी रहेको बताइएको छ।
भारतीय गृह मन्त्रालयको सिफारिसमा यो कदम चालिएको हो। सरकारले सामाजिक सञ्जालमा फैलिएको भ्रमपूर्ण सूचनाहरूमाथि पनि कारबाही गरेको जनाएको छ। यसैगरी, पहलगाम घटनालाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै बीबीसीको भारत कार्यालयलाई सरकारी पक्षबाट औपचारिक पत्र पठाइएको छ।
उल्लेखनीय छ कि अप्रिल २२ मा पहलगामको बाइसरण क्षेत्रमा भएको गोलीकाण्डमा २६ जना पर्यटकको मृत्यु भएको थियो। यस घटनाको अनुसन्धान भारतको राष्ट्रिय अनुसन्धान संस्था (एनआईए) ले गरिरहेको छ। हालसम्मको अनुसन्धानमा घटनामा संलग्न पाँच जनामध्ये तीन जना पाकिस्तानी र दुई जना स्थानीय रहेको खुलेको छ।
भारत सरकारले देशको सुरक्षामा नकारात्मक असर पार्ने गलत प्रचारबाजीविरुद्ध कडा कदम चाल्ने नीति लिएको स्पष्ट पारेको छ।