Logo

३ बैशाख, वीरगञ्ज । हनुमान जयन्तिको शोभा यात्राका क्रममा दुईपक्षबीभ भएको झडपले वीरगञ्ज अशान्त छ । धार्मिक शोभायात्रामा भएको झडपपछिको प्रतिकूल अवस्थामा पनि पर्साबाट प्रतिनिधित्व गर्ने तीन तीन जना मन्त्रीहरुले केही नबोलेको भनेर व्यापक आलोचनाहरु भईरहेका थिए ।

त्यसपछि बल्ला बुधबार दुई मन्त्रीले सार्वजनिक रुपमा सदभाव कायम राख्न अपिल गरेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का सांसद तथा संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादव र क्षेत्र नम्बर ३ का सांसद तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बुधबार मात्रै आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

संघीय मामिला मन्त्री गुप्ताले वीरगञ्जको सद्भाव खल्बल्याउने घटनामा ध्यानाकर्षण भएको जनाउदै दोषीमाथि छानबिन र कारबाहको माग गरेका छन् ।

धार्मिक, साँस्कृतिक तथा जातीय विविधताबीच आपसी सम्मान र भाइचाराको भावना प्रकट गर्नु सबै नागरिकको मानवीय कर्तव्य भएको उल्लेख गर्दै मन्त्री गुप्ताले समाजमा शान्ति र सहिष्णुता कायम राख्न सबै पक्षबाट संयम र समझदारीको आवश्यकता रहेको बताएका छन् ।

झडपपछिको अवस्थालाई ध्यानमा राख्दै मन्त्री गुप्ता निरन्तर स्थानीय प्रशासन र सुरक्षा निकायहरूसँग सम्पर्कमा रहेको जनाएका छन् । झडपपछि दुवै समुदायका प्रतिनिधिहरू र विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठकले गरेको पाँच बुँदे सहमतिअनुसार दोषी पहिचान, अनुसन्धान र कारबाही प्रक्रियालाई अगाडि बढाउन मन्त्री गुप्ताले आग्रह गरेका छन् ।

मुलुककै आर्थिक तथा औद्योगिक केन्द्रका रूपमा परिचित वीरगञ्जमा सामाजिक सद्भावमा खल्बल ल्याउने प्रयासप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले सबै वीरगञ्जवासीलाई संयमित र सजग रहन अनुरोध समेत गरेका छन् ।

यस्तै अर्का मन्त्री प्रदीप यादवले पनि सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै र्सा क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद प्रदीप यादवले वीरगञ्जमा हालै दुई समुदायबीच देखिएको तनावबारे पाँच दिनपछि सार्वजनिक रूपमा फेसबुकमार्फत वीरगञ्जबासीलाई संयमता अपनाउन अपिल गरेका छन्।

सांसद यादवले वीरगञ्जको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सद्भावपूर्ण वातावरणलाई बचाइराख्न सबैलाई संयमित बन्न आग्रह गरेका हुन्। उनले वीरगञ्जलाई “साझा फुलवारी” को संज्ञा दिँदै यहाँको शान्ति, सद्भाव र मेलमिलाप सबै नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गरेका छन्।

यादवले हाल देखिएको तनावपूर्ण अवस्थालाई संवादमार्फत समाधान गर्न स्थानीय प्रशासन र प्रहरीसँग निरन्तर सम्पर्कमा रहेको र विभिन्न समुदायका अगुवासँग पनि समन्वय र सल्लाह जारी रहेको जनाएका छन्। उनले शान्ति खलल पु¥याउने, उत्तेजक अभिव्यक्ति दिने, सम्पत्ति तोडफोड गर्ने तथा आगजनी गर्ने जोकोहीलाई कानूनअनुसार कारबाही हुनु पर्नेमा जोड दिएका छन्।

सांसद यादवले प्रचारबाजी भन्दा नेपथ्यबाट गम्भीर प्रयास र समन्वयमार्फत शान्ति स्थापना गर्नु पर्ने धारणा राख्दै वीरगञ्ज चाँडै आफ्नो पुरानै लयमा फर्किने विश्वास व्यक्त गरेका छन्।


सम्बन्धित समाचार