
३ वैशाख,वीरगञ्ज । वीरगञ्जमा उत्पन्न विवाद समाधानका लागि राजनीतिक दलहरुले सर्वदलीय बैठकको आह्वान गरेको छ । चैत ३० गते हनुमान जयन्तिको शोभा यात्राका क्रममा दुईपक्षबीच भएको झडपले अहिले वीरगञ्ज अशान्त बनेको छ ।
धार्मिक शोभायात्रामा भएको झडपपछिको प्रतिकूल अवस्थामा राजनीतिक दलहरुले विवाद समाधानका लागि राजनीतिक दलहरुले खेल्नुपर्ने भूमिकाको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले जानकारी दिए ।
उनका अनुसार बैठक दिउँसो २ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय ज्योतीनगरमा बोलाईएको छ । धार्मिक विवाद भएपनि यसलाई राजनीतिक रुपमा समाधानका लागि पहल गर्नका लागि सर्वदलीय बैठक बस्नु उचित भएको नेकपा माओवादी केन्द्र पर्साका पूर्व अध्यक्ष रामदरश कुश्वाहले जानकारी दिए ।
वीरगञ्ज अहिलेसम्म धार्मिक र साम्प्रदायिक सदभाव कायम गरी बसिरहेको अवस्थामा पछिल्लो समयमा देखिएको यस्तो साम्प्रदायिक विवादले वीरगन्जकै अहित हुने भन्दै राजनीतिक दलहरु पनि चिन्तित बनेका छन् । उनीहरुले धार्मिक विवादले समाजलाई गलत दिशातर्फ लैजान खोजेको भन्दै यसमा राजनीतिक सुझबुझ र सामाजिक दृष्टिकोणबाट पनि समाधान गर्नुको विकल्प नरहेको राजनीतिक दलहरुको धारणा छ ।
कतिपयले भने निर्वाचनमा भोट कट्ने डरले राजनीतिक दल र तीनका नेताहरुले केही पनि नबोलेको भन्दै आक्रोश पोख्ने गरेका छन् । कतिपयले भने राजनीतिक दल र नेताहरुकै कारणले अहिले यस्तो साम्प्रदायिक सदभाव खल्बलिएको आरोप लगाउने गरेका छन् ।
यस्तै विषयहरुको छलफल र संवादको माध्यमबाट समाधान गर्नका लागि राजनीतिक दलहरुको सर्वदलीय बैठक आवश्यक देखेर आह्वान गरिएको कांग्रेस पर्साका कार्यवाहक सभापति कुर्मीले बताए ।