Logo

३ वैशाख,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषयगत सुझावहरू बुझाएको छ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई सुझावपत्र हस्तान्तरण गरेका हुन्।

महासचिव पोखरेलले जानकारी दिएअनुसार, एमालेले यसअघि प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि पनि यस्तै सुझाव दिएको थियो। तर, त्यतिबेला अघिल्लो सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसकेकाले ती सुझावहरू समावेश हुन सकेका थिएनन्। त्यसैले, ती सुझावहरूलाई ताजा बनाएर पुनः पेस गरिएको हो।

पोखरेलले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित संकल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिएका सुझावहरू कार्यान्वयनमा आउन बाँकी रहेकोले त्यसको कार्यान्वयनका लागि पनि प्रधानमन्त्रीसँग आग्रह गरे।

प्रधानमन्त्री ओलीले विकासका लागि ‘भिजनरी’ सोच भएको एमालेजस्तो पार्टीले केन्द्रीय विभागहरूको रायका आधारमा दिएका सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि उपयोगी हुने विश्वास व्यक्त गरे।


सम्बन्धित समाचार