Logo

३ वैशाख,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्रबैंकमा छिट्टै गभर्नर नियुक्ति हुने बताएका छन्। उनले शिक्षकका मागप्रति सरकार संवेदनशील रहेको पनि जानकारी दिए।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले मुलुकको समग्र अर्थतन्त्रमा सुधार ल्याउन सक्ने क्षमता भएको गभर्नर ल्याउनुपर्ने भएकाले नियुक्तिमा ढिलाइ भएको स्पष्ट पारे।

उनले सत्तारुढ दलहरूबीच गभर्नर नियुक्तिको विषयमा सहमति भइसकेको जानकारी दिँदै सत्तारुढ राजनीतिको संयन्त्रको बैठकको मार्गनिर्देशनअनुसार सरकारले निर्णय लिने बताए।

मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्ति गर्ने सहमति भइसकेको र अब संयन्त्रको बैठक बसेर छिट्टै समस्या समाधान हुने जानकारी दिए।

सरकार शिक्षकका मागप्रति संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री गुरुङले शिक्षकका जायज माग पूरा गर्न सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरिसकेको बताए।


सम्बन्धित समाचार