Logo

४ वैशाख, काठमाडौं । शिक्षा ऐनको माग गर्दै शिक्षकहरूले काठमाडौं केन्द्रित सडक आन्दोलनलाई १६औं दिन पनि जारी राखेका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको यो आन्दोलनले देशभरका सामुदायिक विद्यालयहरूमा प्रभाव पारेको छ।

नयाँ शैक्षिक सत्र सुरु भए पनि विद्यालयहरूमा भर्ना कार्यक्रम अझै सुरु हुन सकेको छैन। यसका साथै, काठमाडौं उपत्यकामा सवारी आवागमनमा समेत समस्या देखिएको छ।

बिहीबार पनि शिक्षकहरूले राजधानीमा प्रदर्शन गरेका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले माइतीघर मण्डलाबाट प्रदर्शन गर्दै बानेश्वर पुगेर धर्ना दिएका हुन्।

सरकारले शिक्षकहरूको माग सम्बोधन गर्न आगामी वैशाख १२ गते संसद बैठक आह्वान गर्ने निर्णय गरे पनि शिक्षकहरूले आफ्नो आन्दोलनलाई थप चर्काएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयकलाई छिटो पारित गर्ने उद्देश्यले संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

यद्यपि, शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आफ्नो आन्दोलन जारी रहने अडान लिएका छन्।


सम्बन्धित समाचार