
७ वैशाख, काठमाडौं । नेकपा एमालेले बैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजना गर्ने विशेष कार्यक्रमको तयारीलाई तीव्र पारेको छ। ‘जनताले जितेको दिन युवा सेलिब्रेसन’ नामक कार्यक्रम आयोजनाका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले सक्रिय भएको छ ।
युवाहरूलाई लोकतन्त्रको लागि भएको बलिदान र यसको महत्वबारे जानकारी दिन विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रमको समन्वयमा खटेका पार्टी संगठन विभाग सचिव माधव ढुङ्गेलका अनुसार, आज काठमाडौं उपत्यकामा निर्वाचन जितेका जनप्रतिनिधि र जनसंगठनका पदाधिकारीहरूको भेला आयोजना गरिएको थियो। भेलाले युवा सहभागिताका लागि विभिन्न योजना बनाएको छ।
कार्यक्रमलाई प्रभावकारी बनाउन उपत्यका कोर सिटी स्थानीय पार्टी नेतृत्वसँगको बैठक पनि सम्पन्न भएको छ। बैशाख ११ गते दिउँसो १ बजे भृकुटीमण्डपमा हुने कार्यक्रम सफल बनाउन महासचिव शंकर पोखरेलको नेतृत्वमा मुख्य टिम बनेको छ।
कार्यक्रममा देशभरिका पार्टी र जनसंगठन आवद्ध युवाहरूले सहभागिता जनाउने ढुङ्गेलले बताए। कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। युवा केन्द्रित कन्सर्टका साथै अन्य विशेष कार्यक्रम पनि आयोजना हुनेछन्।
यस कार्यक्रमले युवाहरूलाई लोकतन्त्रको महत्व बुझाउन र राष्ट्रिय विकासमा उनीहरूको सक्रिय सहभागितालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।