
८ वैशाख,वीरगञ्ज । जनमत पार्टी पर्साले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमा पर्सा जिल्लाका महत्वपूर्ण विकास योजनाहरूलाई समावेश गर्न माग गर्दै अर्थ मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ। जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत बुझाइएको ज्ञापनपत्रमा पर्साको विकासमा राज्यले विभेद गरेको आरोप लगाइएको छ।
जनमत पार्टी पर्साका अध्यक्ष ओम प्रकाश सर्राफको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा पर्साको समग्र विकास र न्यायका लागि ८ बुँदे माग प्रस्तुत गरिएको छ।
जनमत पार्टीले माग गरेका ८ बुँदे योजनाहरू निम्नानुसार छन्:
- अलपत्र नारायणी रंगशालाको लागि आवश्यक बजेट विनियोजन।
- नारायणी अस्पतालको विकास र पूर्वाधार निर्माणमा विशेष प्राथमिकता।
- जनता सडक निर्माणको लागि बजेट व्यवस्थापन।
- सिँचाइको लागि विशेष कार्यक्रम र बजेट।
- सिर्सिया नदी संरक्षण र कोरिडोर विकासको लागि बजेट।
- ठोरी क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन विशेष प्याकेज।
- वीरगञ्जको कृषि औजार कारखानाको लागि बजेट।
- समयमै मल र खाद्य व्यवस्थापन तथा वितरणको लागि बजेट।
जनमत पार्टीले पर्साको विकासमा राज्यले ध्यान दिनुपर्ने र आगामी बजेटमा यी योजनाहरूलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ।