Logo

८ वैशाख,वीरगञ्ज । वीरगञ्ज नगर तथा आसपासका क्षेत्रलाई थप सुरक्षित बनाउने उद्देश्यले वीरगंज उद्योग वाणिज्य संघ अन्तर्गतको “सेफर वीरगञ्ज” समितिले थालेको सीसीटिभी क्यामेरा जडान अभियानले थप गति लिएको छ । विगत केही वर्षदेखि विभिन्न स्थानमा सीसीटिभी जडान गर्दै आएको समितिले हालै यस कार्यलाई थप प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगंज महानगरपालिकासँग त्रिपक्षीय सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार तीनै पक्षले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने र अन्य प्रतिष्ठानहरूबाट समेत आवश्यक सहयोग जुटाएर नगर क्षेत्रमा थप सीसीटिभी क्यामेरा जडान गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसैबीच, आज वीरगञ्जमा आयोजित एक कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले “सेफर वीरगञ्ज” अभियानलाई आर्थिक सहयोग प्रदान गरेका छन् । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख श्री राजेशमान सिंह , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक  गौतम मिश्र, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष द्वय  मनोजकुमार दास र आशिषकुमार लाठ, कोषाध्यक्ष अनोज रुँगटा, कार्यसमिति सदस्य  पन्नालाल साहसहित विभिन्न बैंकका शाखा प्रबन्धकहरूको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नगरप्रमुख सिंहले नगरको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउँदै “सेफर वीरगंज” को प्रयासलाई महानगरपालिकाको पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरे । प्रहरी उपरीक्षक मिश्रले सीसीटिभी जडानले अपराध नियन्त्रण र अनुसन्धानमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष दासले “सेफर वीरगंज” अभियानलाई सफल बनाउन आर्थिक सहयोग गर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सबैको सहयोग रहने अपेक्षा राखे । कोषाध्यक्ष रुँगटाले संकलित रकमलाई पारदर्शी रूपमा सीसीटिभी जडान तथा मर्मत–सम्भारमा खर्च गरिने जानकारी दिए ।

यसरी वीरगञ्जलाई सुरक्षित बनाउने उद्देश्यले थालिएको “सेफर वीरगञ्ज” अभियानमा स्थानीय सरकार, सुरक्षा निकाय र निजी क्षेत्रको सहकार्यले सकारात्मक सन्देश दिएको छ । आगामी दिनमा यस अभियानले नगरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।


सम्बन्धित समाचार