
९ वैशाख,वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले वीरगञ्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ। मंगलबार बिहान साढे ८ बजेदेखि सुरु भएको मतदान दिउँसो २ बजे सम्पन्न भएको नेकपा एमाले पर्साका सचिव महेश दासले जानकारी दिए।
नोमिनेशन भएको ११ दिनपछि वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्वका लागि आज मतदान भएको हो। नोमिनेशनकै दिन वीरगञ्जमा कफ्र्यू लागेपछि निर्वाचन स्थगित गरिएको थियो। वीरगञ्जको क्लासिक ब्याङ्क्वेटमा दिउँसो ३ बजेदेखि मतगणना सुरु भएको सचिव दासले बताए।
गएको ३० गते महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि नोमिनेशन भएको थियो। ८३ पदका लागि निर्वाचन हुँदैछ। अध्यक्ष पदमा सुन्दर राउत कुर्मी र नवराज शर्माबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ। उपाध्यक्षमा २ जना, सचिवमा ४ जना र उपसचिवमा ४ जनाको उम्मेदवारी परेको छ।
आज भएको मतदानमा २ सय ५६ जना मतदातामध्ये २ सय ४८ जनाले मत खसालेका छन्। ८ जना मतदाता अनुपस्थित रहेको सचिव दासले जानकारी दिए।