
९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकहरूलाई धैर्यतापूर्वक आफ्नो आन्दोलनलाई निरन्तरता दिन अपिल गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शिक्षकहरूले यसअघि पटक–पटक वार्ता गरे पनि धोका भएको उल्लेख गर्दै यसपटक धैर्यताका साथ आन्दोलन जारी राख्न आग्रह गरेका हुन्।
‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु। तपाईंहरूले पटक पटक आन्दोलन गर्नुभएको, पटक–पटक सम्झौता गर्नुभएको छ र पटकपटक धोका भएको छ,’ प्रचण्डले भने, ‘यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ। शिक्षकहरूको अझै धेरै छ।’
उनले पूर्वशिक्षामन्त्री विद्या भट्टराईको राजीनामालाई सरकारको गैरजिम्मेवारीको प्रमाणको रूपमा प्रस्तुत गर्दै यो सरकार आफ्नै बोझले दबिने टिप्पणी गरे।
प्रचण्डले शिक्षकहरूले उठाएका मागहरू नयाँ नभएको र विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न मात्र आग्रह गरिएको बताए। तर, प्रधानमन्त्री केपी शर्मा ओली त्यसमा नकारात्मक देखिएको उनको भनाइ थियो।
स्मरण रहोस्, विद्यालय शिक्षा ऐनको माग गर्दै देशभरका शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् र सरकारसँगको वार्ता निष्कर्षविहीन बनेको छ।