
९ वैशाख, काठमाडौं । कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । यही बैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा निर्धारित समय भन्दा १० पछाडी सारिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले आगामी वैशाख २१ गतेबाट परिक्षा लिने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
यद्यपि बोर्डले परीक्षाको तालिका भने बुधबार मात्रै सार्वजनिक गर्नेछ । बोर्डको बैठक बसेर परीक्षाको तालिका तय गर्ने निर्णय भएको स्रोतले बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए । सोही अनुसार परीक्षा बोर्डले बैशाख २१ गतेको लागि मिति तय गरेको हो । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित गरिएको हो ।
मंगलबार साँझ बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका थिए ।
यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । तर सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड थियो । बोर्डले निजामती सेवाका कर्मचारी प्रयोग गरेर भएपनि परिक्षा लिने तयारी गरेको थियो । निजामतीबाट परिक्षा लिने बिषयको चौतर्फी विरोध भएपछि सरकारले परिक्षाको मिति १० पछाडी सारेको हो ।