Logo

१० वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरी आगामी बजेट अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेका छन्। अधिवेशन सुरु हुनु दुई दिनअघि भएको बैठकमा सभामुख घिमिरेले बजेट अधिवेशनमा पूर्वबजेट छलफल, सरकारको नीति तथा कार्यक्रम, बजेट प्रस्तुति र महत्वपूर्ण विद्यालय शिक्षा विधेयकलाई प्राथमिकता दिनुपर्ने बताए।

सभामुख घिमिरेले यी कार्यभारहरूको चापलाई मध्यनजर गर्दै शनिबार र सार्वजनिक बिदाबाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव राखेका थिए। सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार, दलका प्रमुख सचेतकहरूले सभामुखको यो प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेका छन्।

आगामी वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिले यसैअनुसारको संसदको दैनिक कार्यसूची (क्यालेन्डर) तयार गर्नेछ।

बैठकमा सभामुख घिमिरेले सरकारको नीति तथा कार्यक्रम र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्थाबमोजिम पूर्वबजेट छलफलको महत्वबारे जानकारी गराएका थिए। साथै, बजेटको चापलाई समयमै व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

विद्यालय शिक्षा विधेयकलाई पनि उच्च प्राथमिकतामा राखेर पारित गर्नुपर्ने दायित्व संसदको रहेको सभामुखले बताए। उनले शिक्षकहरूले नयाँ शिक्षा ऐन नलिई नजाने अडान लिएको र यस विषयमा आफूसँग भेटेर पहल गरिदिन आग्रह गरेको जानकारी दिए। “उपसमितिले वैशाख २३ सम्ममा प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको छ। त्यसैले संसदले यसलाई प्राथमिकता दिने तयारी गरेको छ। जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी कार्यसूचीमा सुरक्षित गर्नेछौं। समितिको प्रतिवेदन आएलगत्तै संसदले पारित गर्ने प्रक्रिया सुरु गर्छ,“ सभामुख घिमिरेले भने।

यसैगरी, सभामुख घिमिरेले निजामती सेवा लगायतका अन्य महत्वपूर्ण विधेयकहरूलाई पनि यही बजेट अधिवेशनमा पारित गर्ने गरी तयारी अवस्थामा राख्न दलका प्रमुख सचेतकहरूलाई आग्रह गरेका छन्।

सभामुख र दलका प्रमुख सचेतकहरूबीचको यो छलफलले बजेट अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। अब कार्यव्यवस्था परामर्श समितिले तयार पार्ने कार्यसूचीलाई सबैले उत्सुकतापूर्वक हेरिरहेका छन्।


सम्बन्धित समाचार