
१० वैशाख,काठमाडौं । गृहमन्त्री रमेश लेखकले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्। बुधबार सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनै समस्या नरहेको जिकिर गरे।
उनले शिक्षामन्त्रीको राजीनामाको विषय प्रधानमन्त्री र स्वयं शिक्षामन्त्रीबीचको भएको बताए। “जहाँसम्म शिक्षामन्त्रीको राजीनामाको सवाल छ। उहाँले राजीनामा दिनुभएको छ। प्रधानमन्त्रीसँग उहाँको कुरा भएको छ। उहाँसँग के कुरा भएको छ, के कारणले कसरी दिनुभएको छ उहाँले भन्नुभएको होला,“ गृहमन्त्री लेखकले भने।
यसैबीच, गृहमन्त्री लेखकले आन्दोलनरत शिक्षकहरूको मागप्रति सरकार गम्भीर रहेको बताएका छन्। उनले सरकार शिक्षकहरूका जायज मागहरू सम्भव भएसम्म तत्काल सम्बोधन गर्न तयार रहेको जानकारी दिए। “शिक्षक साथीहरूको प्रदर्शन आन्दोलनको कुरा छ। त्यसका बारेमा गम्भीरतापूर्वक कुराकानी भइरहेको छ। हिजो साँझ पनि कुरा भएको छ। अहिले गर्न सक्ने माग सम्बोधन गर्न सरकार तयार छ,“ उनले भने।
सरकार नयाँ शिक्षा विधेयकलाई चाँडोभन्दा चाँडो पारित गरेर शिक्षकहरूका मागहरू सम्बोधन गर्ने तयारीमा रहेको उनको भनाइ छ। गृहमन्त्री लेखकले आन्दोलनरत शिक्षकहरूसँग सरकारले निरन्तर वार्ता गरिरहेको र आज पनि छलफल हुने जानकारी दिए।