
१० वैशाख,काठमाडौं । नेपाल सरकारले स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललाई माल्टाका लागि र इजरायलका लागि नेपाली राजदूत प्रा. धनप्रसाद पण्डितलाई साइप्रसका लागि गैरआवासीय राजदूतको जिम्मेवारी थप गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज नेपाल र पण्डितलाई गैरआवासीय राजदूतको जिम्मेवारी प्रदान गरेका हुन्।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीद्वारा जारी विज्ञप्तिअनुसार, राष्ट्रपति पौडेलले उनीहरूलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा गैरआवासीय राजदूतको रूपमा नियुक्त गरेका हुन्।
यस निर्णयसँगै राजदूत नेपालले स्पेनसँगै माल्टाको द्विपक्षीय सम्बन्धलाई पनि अगाडि बढाउने जिम्मेवारी पाएका छन् भने राजदूत पण्डितले इजरायलसँगै साइप्रससँगको गैरआवासीय कूटनीतिक सम्बन्धलाई विस्तार गर्ने अवसर प्राप्त गरेका छन्। नेपाल सरकारले विभिन्न मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने उद्देश्यले एकै राजदूतलाई अन्य मुलुकको पनि गैरआवासीय जिम्मेवारी दिने प्रचलनलाई निरन्तरता दिएको छ।