
११ बैशाख, बारा । बारामा क्रियाशिल एकजना पत्रकार महिलालाई जितपुरसिमरा उपमहानगरपालिकाका वडा अध्यक्षले सामाजिक सञ्जाल मार्फत ज्यान मार्ने धम्की दिएका छन ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नंं १६ का वडा अध्यक्ष हरिदेव खरेलले आफ्नो मुख्य लगानी रहेको बारा एकेडेमी बोडिङ्ग स्कुलले वन क्षेत्र अतिक्रमण गरेर बनाइएको भन्ने समाचार लेख्ने बारा सिमराकी रातोपाटी संवाददाता शारदा पोखरेललाई ज्यान मार्ने धम्की दिएका हुन ।
वडा अध्यक्ष खरेलले बारा एकेडेमीले बन क्षेत्र अतिक्रमण गरेको बिषयलाई पत्रकार शारदा पोखरेलले समाचार बनाउर्दै छ भन्ने सुचना पाएपछि आफ्नै फेसबुक पेजमा पत्रकारलाई लक्षित गरेर सिमरा, रजघट्टा र डुमरवानाका १० औं हजार वडावासी जम्मा गराई “अचार” बनाउने धम्की दिएका थिए ।
आफ्नो लगानी रहेको बारा एकेडेमी विरुद्धको समाचार आउनु पूर्व सामाजिक सञ्जाल फेसबुक पेजमा वडा अध्यक्ष खरेलले पत्रकार पोखरेललाई लक्षित गरी चरित्रहिनको आरोप समेत लगाएका छन् । उनले आफ्नो विरुद्ध लागेमा जगल्टाको नास गरिदिने समेत धम्की दिएका छन् ।
वडा अध्यक्ष खरेलले सामाजिक सञ्जाल मार्फत अघोषित रुपमा पत्रकार पोखरेललाई धम्की दिएको भोलिपल्ट रातोपाटी अनलाइनमा बारा एकेडेमी बोडिङ्ग स्कुल वन क्षेत्रभित्र स्थापना भएको र त्यसको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र वन कार्यालयले अनुसन्धान गरिरहेको भन्दै समाचार प्रकाशित भएको थियो ।
जितपुरसिमरा उपमहानगरपालिकाको निर्वाचित जनप्रतिनिधि जस्तो व्यक्तिले एकजना क्रियाशिल पत्रकारका विरुद्ध अपशब्द प्रयोग गर्दै “अचार” बनाउने धम्की सहित फेसबुकमा लेखेको स्टाट्स भने उनले हटाएका छन् । उनले साइवर अपराधमा मुद्दा लाग्ने डरले उक्त स्टाट्स हटाएको बताइन्छ ।
रातोपाटीमा समाचार प्रकाशित भएपछि वडा अध्यक्ष खरेलले पत्रकार पोखरेलले बारा एकेडेमीबाट विज्ञापन बापत ७० हजार भन्दा बढी रकम सहयोग लिएको र स्कुटी खरिद गर्न पुन २५ हजार सहयोग मागेकोमा आफूले नदिदाँ बारा एकेडेमीको बारेमा अख्तियारमा उजुरी दिई भ्रामक समाचार लेखेको भन्दै अर्को स्टाट्स लेखेका छन् ।
पत्रकार पोखरेललाई लक्षित गर्दै जगल्टाको नाश गरिदिने र १० र्औं हजार वडावासी जम्मा गराएर “अचार” बनाईदिने भन्ने स्टाट्स भने वडा अध्यक्ष खरेलले आफ्नो फेसबुक पेजबाट हटाएका छन् ।
सरोकारवाला निकायको मौनता रहस्यमय
बाराको सिमरामा बसेर सुशासन, अनियमितता, भ्रष्ट्राचारको बिषयमा निर्भीकताका साथ कमल चलाउदै आएकी पत्रकार शारदा पोखरेललाई सावर्जनिक रुपमा अपशब्द प्रयोग गर्दै मार्ने धम्की दिने वडा अध्यक्ष विरुद्ध स्थानीय प्रहरी, प्रशासन मौन रहेको छ । वडा अध्यक्षको गैर कानूनी अभिव्यक्ति प्रति जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल समेत अनविज्ञ जस्तो देखिन्छन ।
वडा अध्यक्ष खरेलले सामाजिक सञ्जाल फेसबुकमा आफूले लेखेको बिषय पत्रकार पोखरेलका विरुद्ध नभई डुमरवानाकी एक महिलालाई लक्षित गरेर लेखेको रेसखवरलाई बताए । मैले एक महिलालाई लक्षितगरेर लेखेको थिए, पत्रकार पोखरलेलाई होइन, खरेलले भने “धेरै साथिहरुले त्यस्तो नलेख भनेपछि फेसबुकबाट हटाए ।”
एउटा पत्रकार विरुद्ध ज्यान मार्ने अभिव्यक्ति दिने वडा अध्यक्षको गैर कानूनी क्रियाकलापको विरुद्ध नेपाल पत्रकार महासंघ समेत चुपचाप छ । नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश सुवेदीले गएको चुनावमा आफूलाई सहयोग नगरेकोले विज्ञप्ति ननिकाल्ने मुडमा छन् । उनले आफू जिल्ला बाहिर भएकोले त्यस बिषयमा के गर्ने भन्ने नसोचेको रेस खवरलाई बताए ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नंं १६ का वडा अध्यक्ष हरिदेव खरेल नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन । नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी र पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा नेकपा एमाले निकट प्रेस चौतारीबाट निर्वाचित भएकोले उनीहरुले समेत वडा अध्यक्षको रवैयाको बारेमा चु समेत बोलेका छैनन् ।
सुशासन र भ्रष्ट्राचार विरुद्ध कलम चलाउदा पटक पटक आक्रमणको निशाना बनेको पत्रकार पोखरेलको भनाई छ । उनले स्थानीय प्रहरी, प्रशासन र जनप्रतिनिधिहरु समेत अपराधलाई ढाकछोप गर्ने तिर लाग्ने भएकोले आफू असुरक्षित बन्दै गएको बताईन । राज्यका निकायमा उजुरी दिदाँ समेत न्याय पाउँन मुस्कील छ, पत्रकार पोखरेलले भनिन् ।