
११ वैशाख,जनकपुर । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरका एक पूर्व कार्यवाहक आयोजना प्रमुखले हालका खानेपानी मन्त्रीमाथि व्यक्तिगत स्वार्थका लागि आयोजनामा अवरोध गरेको गम्भीर आरोप लगाएका छन् । ती पूर्व प्रमुखले प्रधानमन्त्रीसमक्ष उजुरी दर्ता गर्दै मन्त्रीलाई निलम्बन गरी उच्चस्तरीय छानबिनको माग गरेका छन् ।
उजुरीमा उनले आफूलाई तत्काल पुनर्बहाली गर्न, मन्त्रीको कथित अनियमितता छानबिन गर्न र खानेपानी क्षेत्रमा व्यक्तिगत स्वार्थको हस्तक्षेप रोक्न चार बुँदे माग राखेका छन् ।
पत्रमा उल्लेख भएअनुसार, ती पूर्व प्रमुखले केही समय जनकपुर आयोजनामा इन्जिनियर र कार्यवाहक आयोजना प्रमुखको जिम्मेवारी सम्हालेका थिए । सो अवधिमा रोकिएका केही महत्त्वपूर्ण ठेक्काहरू अघि बढेका थिए र आयोजनाले सकारात्मक गति लिएको थियो । तर, मन्त्रीको निर्णयले उनको सरुवा भएपछि आयोजनाको प्रगति रोकिएको र धेरै नागरिकको स्वच्छ खानेपानीको अधिकार प्रभावित भएको उनको दाबी छ ।
उनले मन्त्रीले आफ्ना नजिकका व्यक्तिमार्फत केही कार्यमा व्यक्तिगत लाभ लिएको आरोप लगाएका छन् । उनले यस विषयमा सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । साथै, आयोजनाको काम र बजेटको लक्ष्य सुनिश्चित गर्न आफूलाई पुनः जिम्मेवारी दिनुपर्ने उनको माग छ । खानेपानी क्षेत्रमा हुने यस्ता हस्तक्षेप रोक्न मन्त्रीलाई निलम्बन गरी संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा उनले जोड दिएका छन् । मन्त्रीले आफूविरुद्ध प्रमाण नष्ट गर्न सक्ने सम्भावना औँल्याउँदै उनले तत्काल निलम्बनको आवश्यकता बताएका छन् ।
यस घटनाक्रमले खानेपानी जस्तो संवेदनशील क्षेत्रमा हुनसक्ने विवाद र अनियमितताको विषयलाई सतहमा ल्याएको छ । अब सरकार र सम्बन्धित निकायले यस विषयमा कसरी छानबिन गर्छन् र कस्तो कदम चाल्छन् हेर्न बाँकी छ । विवादै विवादमा बनेको ओली नेतृत्वको दुईतिहाई बहुमतको सरकार विवादै विवादको घेरामा रहेको छ ।