Logo

१२ वैशाख,वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जमा करिब १० लाख रुपैयाँ मूल्य बराबरको औषधि बरामद गरेको छ। भारतबाट अवैध रूपमा अटोमार्फत ल्याइएको ४८० डब्बा न्युट्रिक्योर क्याप्सुल सशस्त्र प्रहरी बलले वीरगन्ज महानगरपालिका–२४ स्थित रामगढवाबाट बरामद गरेको हो।

ना.२ स.१०१७ नम्बरको अटोमा औषधि ओसारपसार गरिँदै गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अटो चालक वीरगन्ज–२५ सिर्सियाका ३६ वर्षीय अमृत साह कानुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र बहादुर सिंहले जानकारी दिए।

औषधि तस्करीमा प्रयोग भएका भारतीय नम्बर प्लेटका दुईवटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको डीएसपी सिंहले बताए।

बरामद औषधिको मूल्य करिब ९ लाख ६० हजार रुपैयाँ, अटो र मोटरसाइकलको संयुक्त मूल्य करिब ६ लाख रुपैयाँ गरी कुल मूल्य १५ लाख ६० हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति र बरामद सामानहरू आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सिंहले जानकारी दिए।


सम्बन्धित समाचार