
१२ वैशाख,काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता आज निष्कर्षमा पुग्न सकेन। नेपाल शिक्षक महासंघको वार्ता टोली शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रवेश नगरी नै फर्किएको छ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले वार्ता टोलीमा महासंघले तयार पारेको भन्दा फरक व्यक्तिहरूको नाम समावेश गरिएकाले आफूहरू वार्तामा सहभागी नभई फर्किएको जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ’नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं। तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएका छौं।’
अध्यक्ष सुवेदीले मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली शिक्षक महासंघले तयार नगरेको पनि स्पष्ट पारेका छन्। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघलाई आजै दिउँसो वार्ताका लागि आह्वान गरेका थिए। देशभरका शिक्षकहरू विभिन्न माग राख्दै गत चैत २० गतेदेखि शिक्षक महासंघको नेतृत्वमा आन्दोलनरत छन्।
मन्त्रालयले वार्ताका लागि आह्वान गरे पनि महासंघले असन्तुष्टि जनाएपछि वार्ता प्रक्रिया अगाडि बढ्न सकेन।