
१३ बैशाख, सिमरा । विशेष आर्थिक क्षेत्र (सिमरा सेज) मा रहेको ‘बायोकम नेपाल’ सञ्चालनमा आएको तीन सातामै बन्द भएको छ । विश्व बैंकको २० करोड रुपैयाँको लगानीमा स्थापना गरिएको प्लास्टिक पुनः प्रयोग उद्योग ‘बायोकम नेपाल’ कच्चा पदार्थ र बजार अभावका कारण बन्द भएको हो ।
कमसल स्तरका प्लास्टिकबाट प्लाइउड उत्पादन गर्ने यो नवप्रवर्तनशील उद्योग कच्चा पदार्थको अभाव र बजार समस्याका कारण बन्द हुन पुगेको उद्योगका मुख्य प्रबन्धक राज महर्जनले बताए ।
उनका अनुसार, “‘बायोकम नेपाल’ ले चकलेट, चाउचाउ, सुर्तीका खोल जस्ता फोहोर प्लास्टिकलाई पुनःप्रयोग गरी प्लाइउड निर्माण गर्ने उद्योग हो । यो प्लाइउड घरायसी तथा कार्यालय प्रयोजनमा प्रयोग गर्न सकिन्छ । तर, पर्याप्त कच्चा पदार्थ नपाउँदा उद्योग नियमित सञ्चालनमा ल्याउन कठिन भइरहेको छ ।”
“बजारको अनुसन्धान गरेर मात्र उद्योग पुनःसञ्चालन गर्ने तयारीमा छौं,” महर्जनले भने, “कच्चा पदार्थको नियमित आपूर्ति र उत्पादनको स्थायीत्व नहुन्जेल हामी अगाडि बढ्न सक्दैनौं ।”
विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको यो परियोजना ‘रिभर प्लस’ अन्तर्गत आधा दर्जन गैरसरकारी संस्थाको समन्वयमा अगाडि बढाइएको हो । यस्ता प्लास्टिक पुनःप्रयोगबाट उत्पादन सम्भवतः नेपालमै पहिलो भएको बताइन्छ ।
प्राविधिक अजय चौधरीका अनुसार, सिमरा सेजमा स्थापना भएको यस उद्योगले वातावरण संरक्षणमा सहयोग पु¥याउनुका साथै काठको प्रयोगलाई पनि प्रतिस्थापन गर्न सक्ने सम्भावना बोकेको थियो । तर, विद्युत् आपूर्तिको अनियमितता र आवश्यक पूर्वाधारको अभावले समेत उद्योग सञ्चालनमा चुनौती थपेको उद्योगका सिमरा शाखा प्रमुख अफताव अन्सारीले जनाए ।
‘पिपुल इन निड’ नामक संस्थाकी कार्यक्रम प्रमुख आस्था प्रधानका अनुसार, यस्तो प्रविधिबाट उत्पादन गरिएको प्लाइउडबाट कुर्सी, टेबल लगायतका घरायसी फर्निचरहरू निर्माण गर्न सकिनेछ ।
यता, सेजका कार्यकारी निर्देशक छत्र बहादुर कटुवालले उद्योगसँग कुनै गुनासो औपचारिक रूपमा नआएको स्पष्ट पार्दै, “सहयोग मागियो भने सेज सधैं सहयोग गर्न तयार छ, भने ।”
पुनः प्रयोगयोग्य प्लास्टिक फोहोर व्यवस्थापन, रोजगारी सिर्जना र वातावरण संरक्षणमा योगदान पुर्याउने यो परियोजनाको सुरुवाती चुनौतीहरूले आगामी दिनमा सुधारका सम्भावनासमेत देखिएको छ । उद्योगले चुनौतीहरूसँग जुध्दै दीर्घकालीन रणनीतिमा अघि बढ्न सकेमा यसले नेपालको औद्योगिक नवप्रवर्तनमा महत्वपूर्ण योगदान दिन सक्ने देखिन्छ । जथाभावी फलिएका प्लाष्टिकजन्य फोहरलाई संकलन गरेर पुनं प्रयोगमा ल्याउदा नदीनाला, सडकहरु सफा हुने जनाइएको छ ।