Logo

१३ बैशाख, काठमाडौँ ।  जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता घोषणा गर्न बैशाख १७ गतेका लागि तयारी तीव्र बनाइएको छ। ऐतिहासिक राजनीतिक एकताका लागि दुवै पार्टी सक्रिय रूपमा जुटिरहेका छन्।

पार्टी एकता प्रक्रिया अघि बढाउन जनमत पार्टीले मंगलबार साँझ ६ बजे पार्टी कार्यालय, मध्यबानेश्वरमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैठकमा सहभागी सबै नेताहरूलाई नागरिकता र मतदाता परिचयपत्र लिएर उपस्थित हुन भनिएको छ।

पार्टी एकताको औपचारिक घोषणा कार्यक्रम आगामी बुधबार आयोजना गरिनेछ। उक्त कार्यक्रममा सबै केन्द्रीय सदस्य, भातृ संगठन, शुभेच्छुक संस्था र अन्य सरोकारवालालाई पनि उपस्थित भई एकताको साक्षी बन्न आह्वान गरिएको छ।

राजनीतिक स्थायित्व र मधेस केन्द्रित मुद्दालाई साझा एजेन्डाका रूपमा अघि बढाउन दुवै पार्टी एकतामा उन्मुख भएको जनाइएको छ। यो एकता मधेसको आवाजलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

राजनीतिक विश्लेषकहरूले पनि जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको सम्भावित एकतालाई संघीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ पार्न सकारात्मक संकेतका रूपमा लिएका छन्।


सम्बन्धित समाचार