
१४ वैशाख,काठमाडौं ।भारतीय काश्मिरको पहलगाममा भएको आतंककारी हमलाप्रति नेपाली सांसदहरूले एक स्वरमा विरोध जनाएका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक, शून्य र विशेष समयमा बोल्ने सांसदहरूले उक्त घटनाको घोर निन्दा गरेका हुन्।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पहलगाममा नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जनाको हत्या हुनु आतंककारी घटना भएको बताए। उनले जात, धर्म र वर्ण सोधेर गरिएको हत्यालाई आतंककारी क्रियाकलापको संज्ञा दिँदै यसको भत्र्सना गरे।
नेकपा एमालेका सांसद किरणकुमार साहले पनि पहलगामको हत्यालाई आतंककारी क्रियाकलाप भने। उनले धर्मको नाममा नेपालीको हत्या हुनुले आतंककारीका लागि नेपालीहरू सीधा निशानामा परेको देखिएको बताए। उनले आतंकवादविरुद्ध लड्न सरकारले प्रभावकारी नीति र रणनीति बनाउनुपर्नेमा जोड दिए।
नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले पनि पहलगाम घटनाको घोर निन्दा र भत्र्सना गरे। जनमत पार्टीकी सांसद अनिता देवीले पनि उक्त आक्रमणको निन्दा गर्दै आतंकवादविरुद्ध विश्व जगत एक भएर लड्नुपर्ने र नेपाल भारतको साथमा रहेको बताइन्।