
१५ वैशाख,जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले शिक्षकहरूको जारी आन्दोलनको जिम्मेवारी वर्तमान सरकारले मात्रै लिएर उम्किन नमिल्ने बताएका छन्।
लोसपाको जनकपुरधामस्थित नवनिर्मित पार्टी कार्यालयको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ठाकुरले अहिले सडकमा उत्रिएका शिक्षकहरूको समस्या समाधानमा विगतका सरकारहरू पनि उत्तिकै जिम्मेवार रहेको बताए।
“शिक्षकहरूको यो अवस्था आउनुमा सबै सरकारको भूमिका छ, त्यसैले यसको दोष केवल एक सरकारलाई दिएर पन्छिन मिल्दैन,“ उनले भने। सरकारको नेतृत्व गरेका सबै नेताहरूले यसको जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो। उनले सरकारलाई दोष दिनुभन्दा समस्याको आलोचना गर्न सकिने धारणा राखे।
अध्यक्ष ठाकुरले नेपालको शिक्षा क्षेत्रमा निजी विद्यालयहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे। “यदि निजी क्षेत्रका विद्यालयहरू नभएको भए नेपालको शिक्षाको अवस्था कस्तो हुन्थ्यो होला?“ भनी उनले प्रश्न गरे। सामुदायिक विद्यालयहरूको मात्र भर परेर सबै नागरिकलाई शिक्षित गर्न सक्ने अवस्था नरहेको उनको जिकिर थियो।
यसका साथै, अध्यक्ष ठाकुरले नेपालमा खानेपानी र स्वास्थ्य क्षेत्रमा पनि गम्भीर समस्याहरू विद्यमान रहेको बताए।