
१५ वैशाख,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले २०७८ मंसिरमा भएको एकता महाधिवेशनमा पराजित भएयता पहिलो पटक राजेन्द्र लिङ्देनको नेतृत्वलाई स्वीकार गरेका छन्।
सोमबार रत्नपार्कको शान्ति बाटिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले लिङ्देनको नेतृत्वलाई स्वीकारेका हुन्। उनले आफूहरू अलग अलग पार्टीमा रहे पनि एजेन्डामा एकै ठाउँमा रहेको टिप्पणी गरे।
मञ्चमा सँगै उभिएका लिङ्देनको हात समातेर थापाले उनलाई नेता मान्न तयार भएको संकेत दिए। त्यसपछि थापा र लिङ्देनसँगै केशरबहादुर विष्ट र राजावादी आन्दोलनका संयोजक नवराज सुवेदी पनि हात समात्न आइपुगे।
“हामी एक ठाउँमा छौँ, एक भएर रहन्छौँ। एउटा कुरा प्रष्ट छ, राप्रपा देशको अहिलेको सबैभन्दा ठूलो र बलियो राष्ट्रवादी शक्ति हो,” थापाले भने, “राप्रपाले नै सबैले समेट्ने गरी अघि बढ्नुपर्छ। यो पहलकदमी लिनका लागि राजेन्द्र लिङ्देनलाई आग्रह गर्छु। लिङ्देनले पहलकदमी लिएर सबै राष्ट्रवादी/राजावादी शक्तिहरूलाई एकै ठाउँमा ल्याउनुपर्छ।”
त्यसअघि शान्ति बाटिकाको कार्यक्रममा पुगेका लिङ्देनले थापालाई दाइ भनेर सम्बोधन गर्दै नमस्कार गरेका थिए। त्यसबेला दुई नेताबीच केहीबेर भलाकुसारी पनि भएको थियो। यो दृश्यले त्यहाँ उपस्थित राजावादी कार्यकर्ताहरू उत्साहित भएका थिए।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजावादीको प्रदर्शनको नेतृत्व दुर्गा प्रसाईं र नवराज सुवेदीले गरेका थिए। उक्त आन्दोलनयता राप्रपा नेपालका अध्यक्ष थापा छायाँमा परेका थिए। उता राप्रपालाई पनि शीर्ष नेता पक्राउ परेर धक्का लागेको थियो।
कुनै बेला लिङ्देनलाई राप्रपाको अध्यक्षसमेत स्वीकार्न तयार नभएका थापा अब उनकै अगुवाइमा राजा फर्काउने अभियानलाई अघि बढाउन तयार भएका छन्। त्यहीअनुसार उनले लिङ्देनलाई आफ्नो नेता मान्न तयार रहेको जनाउ रत्नपार्कको शान्ति बाटिकाबाट दिएका छन्।