
१५ बैशाख, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले करिव १८ अर्बको अवैध कारोवारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई ११ जिल्लाबाट अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ परेका सबै भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र करछलीलगायतमा संलग्न रहेको सीआईबीले उल्लेख गरेको छ। उनीहरुबाट १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ अवैध कारोबार भएको प्रहरीले जनाएको छ ।
उनीहरुले व्यक्तिगत तथा संस्थागत रुपमा अवैध कारोबारबापत प्राप्त गरेको गैरकानुनी रकमलाई डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल प्रालि) कम्पनीहरुको नाममा नेपालमा रहेका बैंक खाताहरुमा जम्मा गर्न मनी म्युल परिचालन गरेको सीआईबीले उल्लेख गरेको छ।
यसरी ठूलो परिमाणमा नगदै रकम खातामा प्लेसमेन्ट गरी त्यो रकमलाई विभिन्न रेमिट्यान्स भुक्तानी गर्ने कम्पनीहरुले उक्त डिजिटल वालेट कम्पनीमार्फत ईमनी बनाइ सो रकम रेमिट्यान्सबापत भुक्तानी पाउनुपर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीका नेपालमा रहेका आफन्तको खातामा ट्रान्सफर गर्ने गरेको फेला परेको हो।
सीआईबीका अनुसार रेमिट्यान्सबापतको रकम हिसाब मिलान गरेको देखिएको छ। योसँगै सम्बन्धित मनी ट्रान्सफर र त्यसका सञ्चालक समेतका व्यक्तिहरुलाई राष्ट्र बैंक ऐन २०५८ बमोजिम कसुरउपर छानबिन भइरहेको सीआईबीले उल्लेख गरेको छ।
सीआईबीले पक्राउ गरेका मोरङका डीएस ट्रेडर्स तथा रेमिट्यान्सका वीरेन्द्र साह र दीपेन्द्र साह छन्। उनीहरुले २ अर्ब ८२ करोड, १९ लाख ३३ हजार १८ रुपैयाँ कारोबार गरेको देखिएको छ।
त्यसैगरी महोत्तरीका दीपज्योति ट्रेडर्सका श्रवण कुमार साह, १ अर्ब ५१ करोड २० लाख ६० हजार ४२४ रुपैयाँ, महोत्तरीका रिया ट्रेडर्सका तारालाल यादव १ अर्ब ३९ करोड ५५ लाख ३५ हजार ४२५ रुपैयाँ, आनन्द ट्रेडर्सका हरेराम महतो (सर्लाही)को १ अर्ब २ करोड ६३ लाख ९८ हजार ८४७ रुपैयाँ, न्यु सन्ध्याका निरोज कुमार महतो (धनुषां)को ८४ करोड ७ लाख ८६ हजार ५८४ रुपैयाँको अवैध कारोबार भेटिएको छ।
यसबाहेक अलिता मनी ट्रान्सफरकी अलिता देवी महतो (धनुषा) र धनुषाकै प्रकाश सिंहकोको ९६ करोड ७५ लाख ४६ हजार ६०० रुपैयाँ, श्री एन्जल इन्टरप्राइजेज धनुषाका अरुण कुमार साहको ८६ करोड ८५ लाख ३४ हजार ५७३ रुपैयाँ, आर एन्ड आर सबरेमिट प्राइभेट लिमिटेड पर्साका प्रदीप कुमार साहको १ अर्ब १ करोड १५ लाख ९१ हजार ९२० रुपैयाँ, जय मा जानकी मनी ट्रान्सफर धनुषाका सञ्जीव कुमार महतोको ६४ करोड ३ लाख ८८ हजार ५०५ रुपैयाँको कारोबार अवैध रहेको सीआईबीले जनाएको छ।
यसबाहेक पुजा सप्लायर्स नवलपरासीका राजकमल लोनियाको ९७ करोड ५९ लाख ९८ हजार ३२५ रुपैयाँ, टासी ट्राभल्स एन्ड टुर्स नवलपरासीकी भीम कुमारी गुरुङको ७९ करोड ७१ लाख २४ हजार १८४ रुपैयाँ, शिवम् इन्टरप्राइजेज सप्तरीका रामविलास साह र ममता कुमारी साहको ९९ करोड २८ लाख २६ हजार ७७० रुपैयाँ अवैध कारोवार देखिएको छ ।
त्यसैगरी सास्विका मनी ट्रान्सफर पर्साका विकरर्णजंग राणाको ६८ करोड ६४ लाख ५६ हजार ४०७ रुपैयाँ, गोल्डेन स्काई टुर्स एन्ड ट्राभल्सका गणपति पाण्डे (नवलपरासी)को ९१ करोड १२ लाख ७५ हजार ८३२ रुपैयाँ, खुसी मनी ट्रान्सफरका सलमा खातुन (वीरगन्ज)को ७५ करोड ५५ लाख २६ हजार ३५८ रुपैयाँको अवैध कारोबार गरेका छन्।
त्यसैगरी राधिका ट्रेडर्सकी सुशीला कुमारी शाहु सप्तरीले ५७ करोड ४८ लाख ९४ हजार ८२२ रुपैयाँ, हिमालयन मनी ट्रान्सफरका गोविन्द प्रसाद आचार्य चितवनको ५१ करोड ४९ लाख ९ हजार ७४४ रुपैयाँ र सगरमाथा रेमिट्यान्सका शम्भु मेहता सप्तरीको ५७ करोड ३२ लाख ५० हजार ७६९ रुपैयाँको अवैध कारोबार रहेको सीआईबीले जनाएको छ।
ब्युरोले पक्राउ परेकाहरुविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुर उपर अनुसन्धान भइरहेको जनाएको छ । भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र कर छली लगायतमा संलग्न रहेका व्यक्ति तथा समूहले अवैध कारोबारबाट प्राप्त गरेको गैर कानुनी रकमलाई डिजिटल वालेट कम्पनीहरूको नाममा जम्मा गर्न लगाउने गरेको प्रहरीले बताएको छ ।
उक्त रकमलाई रेमिटेन्स भुक्तानी गर्न अनुमति लिएका मनी ट्रान्सफरहरूले डिजिटल वालेट कम्पनीमार्फत इ–मनी बनाइ उक्त रकमलाई रेमिटेन्स वापत भुक्तानी मिलाई अवैध कारोबार गरेको प्रहरीको भनाइ छ ।