Logo

१६ बैशाख, टीकापुर । टीकापुर नगर समितिले आयोजना गरेको खबरदारी सभा एक रोचक राजनीतिक घटनाक्रमको साक्षी बन्यो। विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र)  मा प्रवेश गरेका छन्।

टीकापुर–९, झुङ्गामा आयोजित उक्त सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) टीकापुर नगर अध्यक्ष प्रकाश अधिकारी, नेकपा (एमाले) बाट अर्जुन घतराज, शुशिल गुडिया, अखिल नेपाल महिला संघ प्रदेश कोषाध्यक्ष दुरा कुमारी भाट, नवराज श्रेष्ठ, कलम नेवार, नविन नेवार र अमर बम तथा नेपाली कांग्रेसबाट प्रकृति ढुंगानाले नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

उनीहरूलाई पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिका र माला लगाई पार्टीमा स्वागत गरेपछि माहोल थप उत्साहित बनेको थियो।

यसैबीच, अध्यक्ष प्रचण्डसहितको हुलाकी राजमार्ग अभियान टोलीले कैलालीको टिकापुर–८, धनसिंहपुरमा सहिद बेपत्ता परिवार, घाइते, अपाङ्ग तथा यातना पीडितहरूसँग भेटघाट तथा अन्तरक्रिया गरेको छ। पीडितहरूले आफ्ना गुनासा र अपेक्षाहरू प्रचण्डसमक्ष राखेका थिए।

अछामी स्वादमा रमाए प्रचण्ड

हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई–मधेस जागरण अभियानका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोलीले स्थानीय संस्कृतिलाई सम्मान गर्दै सुदूरपश्चिमको अछामी समुदायको परम्परागत परिकारको स्वाद लिएको छ।

टोलीलाई खाजाको रूपमा विशेषगरी अछामीहरूको पहिचान बोकेका परिकार भक्सी र डल्ला मासको मसला पस्किएको थियो। भक्सी चामलको पिठोमा मह र घ्यू मिसाएर बनाइन्छ। तयार पारिएको मिश्रणलाई केराको पातमा बेरेर परम्परागत भौरोमा बाफमा पकाइन्छ। त्यस्तै, डल्ला मासलाई विशेष मसला हालेर केराको पातमा बेरी बाफमा पकाइएको अर्को लोकप्रिय परिकार हो।

स्थानीय संस्कृतिप्रति सम्मान प्रकट गर्दै अभियान टोलीले केराको पातमा पस्किएको स्वादिलो भक्सी र डल्ला मास खाजाको रूपमा ग्रहण गरेको थियो। यो घटनाले राजनीतिक भेटघाटसँगै स्थानीय संस्कृति र पहिचानलाई पनि उत्तिकै महत्व दिएको सन्देश दिएको छ।


सम्बन्धित समाचार